खड्गकालिका मन्दिरको पुनःनिर्माण शुरु

दमौली, ८ चैत – तनहुँको व्यास नगरपालिका– ११ स्थित ऐतिहासिक तनहुँसुरमा रहेको खड्गकालिका मन्दिरको पुनःनिर्माण शुरु गरिएको छ । पुरातत्व विभागको आर्थिक सहयोगमा मन्दिर पुनःनिर्माण शुरु गरिएको हो । सन् १६७५ तिरका पाल्पाका शक्तिशाली राजा मुकुन्दसेनले शासन गरेको तनहुँसुरमा जीर्ण अवस्थामा रहेको खड्गकालिका मन्दिरको पुनःनिर्माण शुरु गरिएको वडाध्यक्ष नीरबहादुर खड्काले जानकारी दिनुभयो । खड्काका अनुसार विभागको रु ५० लाखको लागतमा मन्दिर पुनःनिर्माण शुरु गरिएको हो । “तनहुँसुरमा रहेको दरबारको दुई वर्ष अगाडि पुरातत्व विभागले उत्खनन गरेको थियो, सोही दरबारको नजिकै रहेको खड्गदेवी मन्दिरको अहिले पुनःनिर्माण भइरहेको छ”, उहाँले भन्नुभयो, “जीर्ण अवस्थामा रहेको मन्दिर पुरानैशैलीमा पुनःनिर्माण गरिनेछ । उक्त मन्दिरमा तत्कालीन सेनवंशीय राजाले पूजाआजा गर्ने गरेको किंबदन्ती छ । खड्गकालिकाको शेषका रुपमा व्यास–४ दमौलीमा पनि तनहुँकालिका मन्दिर निर्माण गरिएको छ । चालू आर्थिक वर्षभित्रै मन्दिर पुनःनिर्माण सम्पन्न गर्ने लक्ष्य छ । ठेकेदारमार्फत मन्दिरको पुनःनिर्माण भइरहेको र त्यसका लागि स्थानीय कालीगढ पनि प्रयोग गरिनेछ । दैनिक १२ कामदार मन्दिर पुनःनिर्माणका लागि खटिएका छन् । कोरोना कहरपछि तनहुँसुर घुम्ने गन्तव्यका रुपमा विकास भइरहेको छ । सोही कारण यहाँ सामुदायिक घरबास पनि सञ्चालनमा आएको छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं प्राकृतिक सम्पदा तथा जैविक विविधताको संरक्षण गर्दै तनहुँसुर भ्रमण गर्न आउने आन्तरिक एवं बाह्य पर्यटकका लागि खाना तथा आवासको सहज व्यवस्थापन देवस्थल सामुदायिक घरबास सञ्चालनमा आएको छ । तनहुँको नाम तनहुँसुरबाट अप्रभङस भएर रहेको भन्ने किम्बदन्ती छ । पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्ना जेठा छोरा भृङ्गीसेनलाई सन् १६१० मा तनहुँमा राज्य सञ्चालन गर्न पठाएको र पछिका आठ सेनवंशी राजाले २३० वर्ष तनहुँसुरबाट राज्य सञ्चालन गरेको इतिहास छ । तनहुँसुर दरबारका अवशेष, राजपरिवारले प्रयोग गरेका किल्ला र गढी, धारा, तोप तथा अन्य हातहतियार, बारुदीखाना, राजाले न्याय निसाफ तथा कचहरी सञ्चालन गर्ने गद्दीचौतारा, साउने कुवा, कुँडापानी, बाइससिँढी चौतारी, ढुङ्गेसाँगु, फूलपाती ढुङ्गा, रानीपोखरी, धर्मशाला, रानीबगैँचा, भगवतीपानी मन्दिर यहाँका पर्यटकीय सम्पदा हुन् । तनहुँसुरबाट हिमशृङ्खला, महाभारत पर्वत शृङ्खला, कलेस्तीफाँट, चुँदीफाँट, गोरखा तथा कास्कीका विभिन्न स्थान अवलोकन गर्न सकिन्छ । तनहुँसुरसम्म पुग्ने खड्गदेवी मोटरमार्गको छ किलोमिटर खण्ड कालोपत्रको तयारी थालिएको छ । सङ्घीय सरकारको रु पाँच करोड र नगरपालिकाको रु पाँच करोड लागतमा सडक कालोपत्रको तयारी भइरहेको छ । सन् १६७५ तिरका पाल्पाका शक्तिशाली राजा मुकुन्दसेनले तनहुँसुरलाई आफ्नो राज्यमा मिलाएका थिए । तनहुँसुरका बारेमा प्रकाशित पुस्तक ‘मोतीको माला’ मा उल्लेख भए बमोजिम राजा मुकुन्दसेनको मृत्यु परोणान्त तनहुँ प्रदेशका प्रशासक छोरा भृङ्गीसेनले स्वतन्त्र राज्य घोषणा गरेको ईतिहास छ ।

Facebook Comments Box