म्याग्दीको विकट गुर्जा गाउँ सडक सञ्जालमा जोडियो
म्याग्दी, २० चैत – धवलागिरि गाउँपालिका–१ अन्तर्गत पर्ने गुर्जा गाउँ सडक सञ्जालमा जोडिएको छ। यससँगै म्याग्दी जिल्लाका छवटै स्थानीय तहका सबै ४५ वडामा सडक पहुँच पुगेको छ। गाउँपालिकाले सञ्चालन गरेको लुलाङ–गुर्जा सडक योजनाअन्तर्गत गुर्जाको कानबराह नजिकसम्म सडक ट्र्याक खुलेपछि ‘बिएए ७८४६’ नम्बरको जिप पहिलोपटक गाउँ नजिक पुगेको वडाध्यक्ष झक छन्त्याल ले जानकारी दिनुभयो।
गत तीन वर्षमा लुलाङदेखि भैसीमानेसम्म करिब १८ किलोमिटर सडक खोलिएको थियो भने चालु आर्थिक वर्षमा थप चार किलोमिटर ट्र्याक निर्माण गरिएको छ। अब थप एक किलोमिटर मार्ग बनाएर एक साताभित्रै गुर्जा गाउँसम्म सवारी साधन पुर्याउने तयारी भइरहेको छ।
आर्थिक वर्ष २०७९/८० देखि सुरु भएको यो योजना गाउँपालिकाको प्राथमिकताप्राप्त गौरव योजना हो। उपाध्यक्ष रेशम पुनमगर का अनुसार दुई वर्षअघिसम्म गुर्जाबाट लुलाङ पुग्न दिनभर पैदल हिँड्नुपर्ने अवस्था थियो। हाल सवारी पुग्ने स्थानबाट करिब पाँच मिनेट पैदल यात्रा गरेपछि गाउँ पुग्न सकिन्छ। सडक सञ्चालनमा आएपछि गुर्जाबाट गाउँपालिकाको केन्द्र मुना दुई घण्टा ३० मिनेट, बेनी पाँच घण्टा र पोखरा सात घण्टामा पुग्न सकिने भएको छ।
गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली ले तीनै तहका सरकार र स्थानीय समुदायको सहकार्यमा दुर्गम गुर्जालाई सडक सञ्जालमा जोड्न सफल भएको बताउनुभयो। सडक सञ्चालनपछि बिरामीलाई अस्पताल लैजान, कृषि तथा पशुजन्य उत्पादन र जडीबुटी बजारीकरणमा सहज भएको छ भने पर्यटक आगमन पनि बढ्न थालेको स्थानीयले बताएका छन्।
सडकको स्तरोन्नति (ग्रेड मिलाउने, घुम्ती सुधार, नाला निर्माण) का लागि सहरी विकास मन्त्रालय बाट रु तीन करोड र गण्डकी प्रदेश सरकारबाट रु ५० लाख बजेट विनियोजन गरिएको छ। गुर्जा जोड्ने सडकअन्तर्गत लमसुङको दरखोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माण पनि सुरु भएको छ। गुर्जामा छन्त्याल र दलित समुदायका करिब २६५ घरपरिवार बसोबास गर्दै आएका छन्, जहाँ कुल जनसंख्या एक हजार ५०५ रहेको छ।

