कर्णाली राजमार्गका १० अलपत्र ठेक्का तोड्ने प्रक्रिया सुरु

जुम्ला, २० चैत – सडक डिभिजन कार्यालय जुम्ला ले कर्णाली राजमार्ग अन्तर्गत वर्षौँदेखि अलपत्र रहेका १० वटा रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु गरेको छ। कार्यालयले ६ निर्माण कम्पनीसँग भएका ठेक्का सम्झौता अन्त्य गर्ने सम्बन्धमा १५ दिने सार्वजनिक सूचना जारी गरेको छ। सूचना अधिकारी सौरभकुमार सिंह का अनुसार समयमै काम सम्पन्न नगर्ने र पटक–पटक म्याद थप गर्दा पनि प्रगति नभएका ठेक्काहरू खारेज गर्न लागिएको हो।

कालीकोटको दहीखोला–मान्म–नाग्म–जुम्ला खण्ड, कुडारीदेखि कालीकोटसम्मका कल्भर्ट निर्माण तथा मर्मत कार्य, बालीघाट नजिकको विशेष मर्मत, खुल्लाले–घोडेङ्गा खण्ड, तथा नाग्म–गमगडी सडकखण्डअन्तर्गत मुगुको ताल्चादेखि रारासम्मका विभिन्न काममा ढिलाइ भएपछि सम्बन्धित ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको हो।

यीमध्ये केही ठेक्का आव २०७८/७९ देखि २०८०/८१ सम्म विभिन्न निर्माण कम्पनीसँग सम्झौता गरिए पनि समयमै काम सम्पन्न हुन सकेको थिएन। पटक–पटक ताकेता र म्याद थप गर्दा पनि काम नभएपछि अन्ततः ठेक्का रद्द गर्ने निर्णय गरिएको हो।

यसअघि पनि सोही सडकखण्डका चारवटा रुग्ण ठेक्का तोडिसकिएको निमित्त डिभिजन प्रमुख श्रवणकुमार महतारा ले जानकारी दिनुभयो। कार्यालयका अनुसार निर्माण व्यवसायीले सम्झौताअनुसार दायित्व पूरा नगरेपछि सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९(२) अनुसार ठेक्का अन्त्य गरिएको हो। यसअघि पूर्वमन्त्री कुलमान घिसिङ ले काम नगरी आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्य गर्न रुग्ण ठेक्का तोड्न निर्देशन दिनुभएको थियो।

Facebook Comments Box