सदनमा परिपक्व र जवाफदेही भूमिका निभाउने प्रतिपक्षको प्रतिबद्धता

काठमाडौँ, १९ चैत – प्रतिनिधिसभा मा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलका सांसदहरूले जनताले दिएको जिम्मेवारी पूरा गर्न सदनमा परिपक्व र जवाफदेही ढङ्गले प्रस्तुत हुने प्रतिबद्धता जनाएका छन् । पहिलो अधिवेशनको सन्दर्भमा सञ्चारकर्मीसँग कुरा गर्दै उनीहरूले जनसरोकारका मुद्दा उठाउनेदेखि आवश्यक कानुन निर्माणमा सहकार्य गर्ने धारणा राखेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद सुहाङ नेम्वाङ ले सत्ता–प्रतिपक्षको सोचभन्दा माथि उठेर देश र जनताको हितमा काम गरिने बताउनुभयो । उहाँले सरकारका कामको गुण–दोषका आधारमा समर्थन र आलोचना गरिने र रचनात्मक सुझाव दिने उल्लेख गर्नुभयो ।

त्यस्तै, नेपाली कांग्रेस का सांसद भरत खड्का ले लोकतान्त्रिक मूल्य–मान्यताअनुसार कांग्रेस परिपक्व र जिम्मेवार रूपमा सदनमा प्रस्तुत हुने बताउनुभयो । विगतका कमजोरीबाट सिक्दै सुधारसहित अघि बढ्ने उहाँको भनाइ थियो । नेपाल कम्युनिष्ट पार्टी का सांसद युवराज दुलाल ले विधिको शासन, सुशासन, रोजगारी, किसान राहत तथा संविधान संशोधनजस्ता विषयलाई प्राथमिकतामा राखिने जानकारी दिनुभयो ।

यसैबीच, संघीय संसद्का पूर्वमहासचिव भरतराज गौतम ले गरिबी न्यूनीकरण र आर्थिक समृद्धिका लागि ठोस योजना ल्याउन सरकार र संसद्लाई सुझाव दिनुभयो । उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गर्दै विकासमुखी एजेन्डालाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो । गत फागुन २१ गते सम्पन्न निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो अधिवेशन आजदेखि सुरु हुँदैछ ।

Facebook Comments Box