नागबेली आकृतिको सडकले पर्यटक तान्दै भोजपुर–बेहेरे मार्ग
भोजपुर, १७ चैत – भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको आकर्षण बन्दै गएको छ । हरियालीले ढाकिएको पहाडको काखैभरि सर्पजस्तै बाङ्गोटिङ्गो रूपमा तल झर्ने यो सडकले जो–कोहीलाई सहजै लोभ्याउने गरेको छ ।
भोजपुर नगरपालिका–१२ मा पर्ने करिब १३ किलोमिटर लामो यस सडकले दुर्गम बस्तीलाई सदरमुकामसँग जोड्दै स्थानीय जनजीवनमा उल्लेखनीय परिवर्तन ल्याएको छ । उकालो–ओरालो पार गर्दै बनाइएको दर्जनौँ घुम्तीले भरिएको मार्ग अहिले यातायातसँगै दृश्यावलोकनका लागि समेत चर्चित बन्दै गएको छ ।
पहिले घण्टौँ पैदल हिँड्नुपर्ने स्थानमा अहिले सवारीसाधन सहज रूपमा पुग्न थालेपछि स्थानीयको दैनिकी सहज बनेको छ । यस सडकले भोजपुरलाई दक्षिणी क्षेत्रसँग जोड्ने कामसमेत गरेको छ । यसको सबैभन्दा विशेषता भनेकै माथिबाट हेर्दा देखिने नागबेली आकृति हो, जसले फोटोग्राफी र भिडियो बनाउनेका लागि आकर्षणको केन्द्र बनेको छ ।
पछिल्लो समय सामाजिक सञ्जालमा यहाँका तस्बिर तथा भिडियो व्यापक रूपमा साझा हुन थालेपछि पर्यटकको आवागमन बढ्दो क्रममा रहेको स्थानीय बताउँछन् । सडक वरिपरि फैलिएको हरियाली वन, डाँडाकाँडा र तल बगिरहेको पिखुवा खोला को दृश्यले यात्रालाई थप रमणीय बनाउने गरेको छ । बिहानको कुहिरो र साँझको सुनौलो घामले सडकको सौन्दर्य अझ आकर्षक देखिने भएकाले पर्यटक समय मिलाएर अवलोकन गर्न पुग्ने गरेका छन् ।
सडक सञ्चालनमा आएपछि कृषि उत्पादन ढुवानीमा सहजता आएको छ । आलु, मकै, अदुवा र फलफूलजस्ता कृषिउपज बजारसम्म पुर्याउन सजिलो भएपछि किसानलाई प्रत्यक्ष लाभ पुगेको छ । साथै, व्यापार–व्यवसाय विस्तारमा समेत टेवा पुगेको स्थानीयको भनाइ छ ।
स्थानीयले सडक छेउमा भ्यू प्वाइन्ट, विश्रामस्थल तथा सूचना बोर्ड निर्माण गर्न सके पर्यटन प्रवर्द्धनमा थप मद्दत पुग्ने बताएका छन् । आवश्यक पूर्वाधार र प्रभावकारी प्रचार गर्न सके भोजपुर–बेहेरे नागबेली सडक देशकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुनसक्ने सम्भावना रहेको सरोकारवालाले बताएका छन् ।

