आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
काठमाडौँ, २३ चैत – सङ्घीय संसद् अन्तर्गतका दुवै सदनको बैठक आज बस्ने भएको छ। प्रतिनिधिसभा को बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय का अनुसार गृहमन्त्री सुधन गुरुङ ले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।
यसैगरी राष्ट्रियसभा को बैठक अपराह्न १२:१५ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा राष्ट्रियसभा सदस्य प्रेमप्रसाद दंगाल ले लिलाकुमारी भण्डारी लाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।त्यसैगरी, बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह ले राष्ट्रिय मानवअधिकार आयोग को आर्थिक वर्ष २०८०/०८१ को २४औँ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची तय गरिएको छ।

