निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्री स्वर्णिम वाग्ले को प्रतिबद्धता
काठमाडौँ, १६ चैत – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले निजी क्षेत्रका लागि प्रशासनिक झन्झट, घुसखोरी र अनावश्यक कानुनी जटिलताको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
सोमबार नेपाल उद्योग वाणिज्य महासङ्घ का प्रतिनिधिहरूसँगको भेटमा उहाँले निजी क्षेत्रलाई सरकारको सहयात्रीका रूपमा अघि बढाउने नीति लिइएको स्पष्ट पार्नुभयो। “अब निजी क्षेत्रले दुःख पाउने अवस्था अन्त्य हुन्छ, हामी तपाईंहरूको सहयात्री हौँ,” उहाँले भन्नुभयो।
अर्थमन्त्री वाग्लेले लगानी विस्तार र रोजगारी सिर्जनामा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै लगानी वृद्धि र रोजगार सृजनामा केन्द्रित हुन आग्रह गर्नुभयो।
भ्रष्टाचार नियन्त्रणमा आफू दृढ रहेको जनाउँदै उहाँले भन्नुभयो, “म घुस खान आएको होइन, कसैलाई खान पनि दिन्न।” अर्थतन्त्रलाई नयाँ गति दिन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै आर्थिक अपराधसम्बन्धी नीतिमा परिवर्तन गरिने जानकारी दिनुभयो।
उहाँका अनुसार अब सामान्य प्रकृतिका आर्थिक अनियमिततामा कैद सजायभन्दा आर्थिक जरिवानालाई प्राथमिकता दिइनेछ। “आर्थिक बेइमानीमा अब हामी आर्थिक जरिवानामा जान्छौँ, उद्योगी–व्यापारी थुनिनु पर्दैन,” उहाँले भन्नुभयो।
तर राज्यले सहजीकरण गर्दा निजी क्षेत्रबाट पनि इमानदारीको अपेक्षा गरिएको उहाँले स्पष्ट पार्नुभयो। “राज्य साथी र सहयात्री बन्दा निजी क्षेत्रले पनि बेइमानी नगर्ने अपेक्षा छ,” उहाँले भन्नुभयो, “यदि नियोजित रूपमा बेइमानी गरिन्छ भने त्यसमा हामी निर्मम हुनेछौँ।”

