मातृभाषा पत्रकारिताले अभिव्यक्ति स्वतन्त्रता बलियो बनाउँछ : सभामुख घिमिरे

काठमाडौँ, ९ साउन – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मातृभाषामा सञ्चालित पत्रकारिताले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अभ्यासलाई बलियो बनाउने बताएका छन्। बिहीबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा नेवाः पत्रकार राष्ट्रिय दबूका पदाधिकारीहरूबाट ‘अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन’को प्रतिवेदन बुझ्दै उनले बहुभाषिक समाजमा मातृभाषा पत्रकारिताको भूमिका झनै महत्वपूर्ण हुने बताए।

“बहुजातीय, बहुभाषिक देशमा राज्यप्रति सबैको अपनत्व तथा संघीयताको प्रवर्द्धनका लागि मातृभाषा पत्रकारिता प्रभावकारी माध्यम हो,” सभामुख घिमिरेले भने, “यो सम्मेलनले त्यही पक्षलाई उजागर गरेको छ।” उनले सम्मेलनबाट प्रस्तुत भएका निष्कर्ष तथा बहसहरूलाई कानून निर्माण र राज्यको व्यवहारमा कार्यान्वयन गर्न पहल गर्ने प्रतिबद्धता जनाए।

“देशी–विदेशी पत्रकारहरूको सहभागितामा सम्पन्न सम्मेलनका सन्देश महत्वपूर्ण छन्। ती कार्यान्वयनका लागि आवश्यक सहयोग गर्नेछु,” सभामुखले भने। नेवाः पत्रकार राष्ट्रिय दबूले गत जेठ ३० र ३१ गते ‘मातृभाषा संरक्षणका लागि पत्रकारिता’ भन्ने नारासहित सम्मेलन आयोजना गरेको थियो। सम्मेलनमा बङ्गलादेश, भारतका विभिन्न प्रान्त र नेपालका पत्रकारहरूको सहभागिता थियो।

सम्मेलनले समावेशी पत्रकारिता, मातृभाषा पत्रकारिताको आवश्यकता, र समग्र सञ्चारको विकासमा मातृभाषाको योगदान सम्बन्धी विविध निष्कर्ष निकालेको थियो। प्रतिवेदन बुझाउने अवसरमा दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सुनील महर्जन, महासचिव केके मानन्धर, सदस्य पूर्णभक्त दुवाल र विकास माली लगायतको उपस्थिति थियो।

नेपालका प्रथम मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्यले पत्रकारिता सुरु गरेको १०० वर्ष पुगेको स्मरणमा सम्मेलन आयोजना गरिएको दबूले जनाएको छ। दबूले १३ वर्षदेखि समावेशी सञ्चार र मातृभाषा पत्रकारिताको विकासका लागि निरन्तर वकालत गर्दै आएको पनि जनाएको छ।

Facebook Comments Box