पाल्पा टिपर दुर्घटनामा मृतक संख्या चार पुग्यो
पाल्पा, ८ चैत – पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ। माथागढी गाउँपालिका–७ रहबासमा भएको दुर्घटनामा गम्भीर घाइते भएका तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदीको उपचारका क्रममा मृत्यु भएपछि मृतक संख्या चार पुगेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी होमप्रकाश चौधरीले जानकारी दिनुभयो।
यसअघि अर्घाखाँचीको शीतगङ्गा–४ सिद्धाराका चालक २६ वर्षीय चिन्ता बहादुर सुनार, सोही स्थानका २६ वर्षीय सुनिल विक तथा रुपन्देहीको देवदह–२ खैरेनीका २६ वर्षीय सुनिल नेपालीको घटनास्थलमै मृत्यु भएको थियो। प्रहरीका अनुसार झडेवाबाट रहबासस्थित चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिपर सडकबाट करिब १०० मिटर तल खसेको थियो।
दुर्घटनामा चालकसहित चार जना घाइते भएका थिए। घाइतेलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएकोमा तीन जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए। गम्भीर घाइते राजन चिदीलाई थप उपचारका लागि भैरहवा मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा उनको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

