पश्चिम एसियाको तनाव: ट्रान्जिटमा फसेका नेपाली गन्तव्यतर्फ प्रस्थान
काठमाडौँ, ६ चैत — पश्चिम एसियामा विकसित तनावका कारण विभिन्न मुलुकमा ट्रान्जिटमा फसेका नेपाली नागरिक अवस्था केही सहज भएसँगै गन्तव्यतर्फ लाग्न थालेका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार सुरुमा दोहा, दुबई, जेद्दा र कुवेत सिटीमा समस्या बढी देखिएको थियो। हाल दोहा र दुबईमा सीमित रूपमा हवाई सेवा पुनः सञ्चालनमा आएसँगै त्यहाँ रहेका नेपालीहरू गन्तव्यतर्फ प्रस्थान गरेका छन्।
जेद्दामा समस्यामा परेका ५२ जना हजयात्रीहरू चैत ५ गते नेपाल फर्किसकेका छन् भने कुवेत सिटीमा रहेका ५२ जनामध्ये बाँकी ३३ जनालाई चैत ४ गते साउदी अरबको भिसा मिलाएर गन्तव्यतर्फ पठाइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्री पौडेलका अनुसार हालसम्म संयुक्त अरब इमिरेट्समा एक जना नेपालीको निधन भएको छ भने २० जना सामान्य घाइते भएका छन्। घाइतेमध्ये अधिकांश उपचारपछि घर फर्किसकेका छन् र एक जना मात्र अस्पतालमा उपचाररत भए पनि खतरामुक्त रहेको बताइएको छ।
तनाव सुरु भएको २१ दिन बितिसकेको छ। गल्फ कोअपरेशन काउन्सिल सदस्य मुलुकहरू लक्षित ड्रोन तथा मिसाइल आक्रमणका घटनाहरू जारी रहे पनि स्थिति क्रमशः सामान्य बन्दै गएको मन्त्रालयले जनाएको छ।
नेपालीहरूको सुरक्षा तथा सहायताका लागि मन्त्रालयले सचिवको संयोजकत्वमा आपत्कालीन प्रतिकार्य समूह गठन गरेको छ भने २४सै घण्टा सञ्चालन हुने आपत्कालीन नियन्त्रण कक्ष सक्रिय रहेको छ। साथै, प्रभावित क्षेत्रमा रहेका नेपालीहरूको विवरण सङ्कलनका लागि खोलिएको अनलाइन फाराममा हालसम्म ८२ हजार १०० जनाले विवरण भरेका छन्।
यसैबीच, त्रास फैलाउने उद्देश्यले सामाजिक सञ्जालमा भ्रामक फोटो तथा भिडियो सामग्री सेयर गरेको आरोपमा सात जना नेपाली पक्राउ परेका छन्। मन्त्रालयले त्यस्ता गतिविधि नगर्न र स्थानीय कानुन तथा सुरक्षा निर्देशिकाको पूर्ण पालना गर्न आग्रह गरेको छ।
नेपाल सरकारले यसअघि नै द्वन्द्वरत पक्षलाई संयमता अपनाउन, अन्तर्राष्ट्रिय कानुनको पालना गर्न र नागरिक सुरक्षामा ध्यान दिन आग्रह गरिसकेको छ।
मन्त्रालयका अनुसार आपत्कालीन नियन्त्रण कक्षमा प्राप्त हुने सम्पर्कको सङ्ख्या पनि पछिल्लो समय घट्दो क्रममा रहेको छ, जसले स्थिति केही सामान्य हुँदै गएको संकेत गरेको छ।

