कांग्रेस केन्द्रीय समितिमा सभापति थापाको राजीनामा अस्वीकृत गर्ने पक्षमा बहुमत
काठमाडौं, ६ चैत – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्ने पक्षमा बहुमत देखिएको छ।
ललितपुरस्थित पार्टी कार्यालय सानेपामा शुक्रबार दिउँसो सुरु भएको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले सभापति थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस गरेका थिए। उनले विशेष महाधिवेशनबाट आएको नयाँ नेतृत्वलाई काम गर्ने पर्याप्त समय नदिई मूल्याङ्कन गर्नु उचित नहुने तर्क राखे।
“५० दिनको छोटो अवधिमा परिणाम खोज्नु न्यायसंगत हुँदैन,” उनले भने, “पार्टीलाई प्रतिकूलताबाट अनुकूलतामा लैजानुपर्ने बेला नेतृत्वले जिम्मेवारी त्याग्नु संगठनप्रति न्याय हुँदैन।”
शर्माले पेस गरेको प्रस्तावमा सभापतिको नैतिक जिम्मेवारीको भावनाको सम्मान गर्दै पनि पार्टीलाई सम्हाल्ने प्रमुख दायित्व भएकाले राजीनामा अस्वीकृत गर्ने उल्लेख गरिएको थियो। केन्द्रीय सदस्य मधु आचार्यका अनुसार उक्त प्रस्तावलाई बैठकमा उपस्थित सदस्यहरूले ताली बजाएर स्वागत गरेका थिए।
बैठकमा सहमहामन्त्री फरमुल्लह मन्सुरसहित करिब दुई दर्जन केन्द्रीय सदस्यहरूले पनि राजीनामा अस्वीकृत गर्नुपर्ने धारणा राखेका छन्। वरिष्ठ नेता अर्जुननरसिंह केसीले नेतृत्वले बीचमै जिम्मेवारी छोड्न नहुने बताएका छन्।
“पार्टी र देश बदल्ने प्रतिबद्धता लिएर अघि बढेको नेतृत्वले बीचमै छोडेर जान मिल्दैन,” उनले भने, “५० दिनमा वर्षौंका समस्या समाधान सम्भव हुँदैन।”
कांग्रेस प्रवक्ता देवराज चालिसेले पनि अधिकांश सदस्यहरू राजीनामा अस्वीकृत गर्ने पक्षमा रहेको बताए। उनले भने, “नेतृत्वले जिम्मेवारी लिएर पार्टी पुनर्निर्माण गर्नुपर्छ भन्ने मत बहुसंख्यक रूपमा आएको छ।”
बैठकमा राजीनामाबारे अन्तिम निर्णय भने अझै भएको छैन। उपसभापति शर्माले प्रस्तावमाथि छलफल जारी रहेको जनाउँदै आइतबार बस्ने बैठकबाट निर्णय हुने जानकारी दिएका छन्।
अब बस्ने बैठकमा प्रतिनिधिसभा निर्वाचनको समीक्षा र सभापति थापाको राजीनामासम्बन्धी प्रस्तावमाथि अन्तिम निर्णय गरिने बताइएको छ।

