घोडेजात्रा आज, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
काठमाडौं, ४ चैत – प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा आज धुमधामका साथ मनाइँदैछ। जात्राको अवसरमा काठमाडौं उपत्यका मा सार्वजनिक बिदा दिइएको छ। आज नेपाली सेना ले टुँडिखेल मा विशेष कार्यक्रम आयोजना गर्दै अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम तथा युद्धकला प्रदर्शन गर्नेछ। उक्त कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च पदस्थ व्यक्तित्वहरूको सहभागिता रहनेछ।
जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण क्षेत्रमा रहेको रूखमा बस्ने गुरुमापा नामक राक्षसले शहरका बालबालिकालाई दुःख दिने गरेको थियो। स्थानीयवासीले त्यसलाई संहार गरेपछि पनि यसको प्रेतात्मा पुनः सक्रिय हुनसक्ने भयका कारण प्रत्येक वर्ष घोडेजात्रा आयोजना गरी घोडाको टापले त्यसको आत्मालाई दबाउने विश्वास गरिन्छ।
बालबालिकालाई कुनै अनिष्ट नहोस् भन्ने कामनासहित आज राति सोही स्थानमा गुरुमापालाई खानेकुरा अर्पण गर्ने परम्परा पनि रहेको छ। यसै अवसरमा ललितपुर मा पनि एउटा आँखा नदेख्ने घोडा दौडाएर घोडेजात्रा मनाउने चलन रहेको छ।

