निर्वाचन २० दिन बाँकी, कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्र पठाउन थालियो

काठमाडौँ, १ फागुन – निर्वाचन आयोगले कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सुरु गरेको छ। छपाइ सम्पन्न भइसकेका ती जिल्लामा मतपत्र पठाउन थालिएको आयोगले जनाएको छ। आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार सल्यान, रुकुमपश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेतका निर्वाचन क्षेत्रमा मतपत्र पठाइएको छ।

हालसम्म ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रका लागि मतपत्र छपाइ सम्पन्न भएको छ। कुल एक करोड ५७ लाख ७८ हजार थान मतपत्र छापिएको आयोगले जनाएको छ। डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), सल्यान, सुर्खेतसहित बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ र सङ्खुवासभाका लागि पनि मतपत्र छपाइ सम्पन्न भइसकेको छ।

त्यसैगरी सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्तापश्चिम (नवलपरासी), मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुमपूर्व, दाङ, बाँके, नवलपरासी (बर्दघाट सुस्तापूर्व), पाल्पा, अर्घाखाँची, प्यूठान, रुपन्देही, रोल्पा, मनाङ, रामेछाप, सिन्धुली, रसुवा र सिन्धुपाल्चोकका लागि समेत मतपत्र छपाइ सम्पन्न भएको छ।

आयोगका अनुसार हालसम्म १४ हजार ३४१ बाकस मतपत्र प्याकिङ सम्पन्न भइसकेको छ। दैनिक करिब एक हजार बाकस मतपत्र प्याकिङ भइरहेको छ भने १३ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइ भइरहेको छ। पहिलो चरणमा १० लाख ९८ हजार २०० नमूना मतपत्र छापेर विभिन्न जिल्लामा पठाइसकिएको छ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ माघ १३ गते दुई करोड आठ लाख ३० हजार थान मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ तथा रुजु गरेर ढुवानीका लागि तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ। प्रत्यक्षतर्फ भने दुई करोड तीन लाख २३ हजार थान मतपत्र छाप्नुपर्नेछ। प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ माघ १६ गतेदेखि सुरु भएको हो।

Facebook Comments Box