प्राकृतिक उपचारका लागि सिंगा तातोपानी
म्याग्दी, २ चैत – सिंगा तातोपानी कुण्ड प्राकृतिक उपचारका लागि देश–विदेशका सर्वसाधारणको आकर्षणको केन्द्र बनेको छ। बाणगंगा नगरपालिका–४ का रामलाल चालिसे प्राकृतिक उपचारका लागि यस वर्ष दोस्रो पटक यहाँ आउनुभएको छ। “यसअघि तातोपानीमा प्राकृतिक उपचार गराएपछि निको भएको ग्यास्ट्रिकको समस्या दोहोरिन नदिन यसपटक पनि आएको हुँ,” उहाँले भन्नुभयो, “तातोपानीमा शरीर डुबाउने र पानी सेवन गर्नाले स्वास्थ्यलाई फाइदा गरेको महसुस गरेको छु।”
त्यस्तै, धवलागिरी गाउँपालिका–३ मुनाका बुद्धिमान पुन छाला सम्बन्धी समस्याको उपचारका लागि तातोपानी कुण्डमा आएको छ दिन भएको बताउनुहुन्छ। सुरुका दिनको तुलनामा स्वास्थ्यमा सुधार हुँदै गएको उहाँले अनुभव सुनाउनुभयो।
भरतपुर की चमेली घर्ति क्षेत्री पछिल्लो १० वर्षदेखि हरेक वर्ष एक हप्ता प्राकृतिक उपचारका लागि यहाँ आउने गर्नुभएको छ। “खाना नरुच्ने, अपच हुने, ढाड दुख्ने समस्या निको भएकाले हरेक वर्ष तातोपानी डुब्न आउने गरेकी छु,” उहाँले भन्नुभयो, “यसले अस्पताल जानआउन लाग्ने समय र औषधिमा हुने खर्चसमेत बचत भएको छ।”
चालिसे, पुन र घर्ति क्षेत्रीजस्तै धेरै सर्वसाधारणका लागि तातोपानी कुण्ड वरदान बनेको छ। सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसी का अनुसार वार्षिक २० हजारभन्दा बढी मानिस नेपालका ७७ वटै जिल्ला र विदेशबाट समेत प्राकृतिक उपचारका लागि यहाँ आउने गरेका छन्।
म्याग्दी नदीको किनारमा प्राकृतिक रूपमा बिरेनुनको गन्ध आउने करिब ५० डिग्री सेल्सियस तापक्रमको तातोपानी सङ्कलन गरेर पोखरीमा स्नानको व्यवस्था गरिएको छ। बिरेनुनको गन्ध आउने पानीमा स्नान गर्दा छाला, ग्यास्ट्रिक, वाथ तथा चोटपटकका समस्या निको हुने जनविश्वास रहेको केसीले बताउनुभयो।
महिला र पुरुषका लागि फरक–फरक समय तालिका बनाएर स्नानको व्यवस्था गरिएको छ। एकपटकमा २५० जना स्नान गर्न मिल्ने पोखरी रहेको छ भने छोटो समयका लागि स्नान गर्ने र एकान्तमा स्नान गर्न चाहनेका लागि छुट्टै पोखरीसमेत सञ्चालनमा छन्।
कुण्डमा स्नान गरेपछि शरीरलाई बाक्लो कपडाले बेरेर न्यानो बनाउने गरिन्छ भने तातोपानी सेवन गर्ने चलन पनि रहेको छ। व्यवस्थापन समितिका सदस्य मिना जुग्जाली गर्बुजा का अनुसार अहिले दैनिक करिब १२०० जनाले यहाँ स्नान गरिरहेका छन्। बिहान ५ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म महिला र पुरुष गरी छ वटा समूह बनाएर स्नानको व्यवस्था गरिएको छ। असोजदेखि वैशाखसम्मको अवधि तातोपानी स्नानको मुख्य याम मानिन्छ।
गत वर्ष नेपालका ६६ जिल्लाका साथै कोरिया, पोल्यान्ड, युक्रेन, स्कटल्याण्ड, रुस, जापान र भारतबाट समेत २० हजार ३४७ जना बिरामी स्नानका लागि आएका थिए। आर्थिक वर्ष २०८०/८१ मा १९ हजार ४०३ र २०७९/८० मा १८ हजार जनाले यहाँ स्नान गरेका थिए।
तातोपानी कुण्डमा आउने पाहुनाका कारण स्थानीय होटल र होमस्टे भरिभराउ भएका छन्। होटल व्यवसायी समिति तातोपानीका अध्यक्ष सीता घले ले यहाँ साना–ठूला गरी करिब २० वटा होटल सञ्चालनमा रहेको जानकारी दिनुभयो। पाहुनाले घरका कोठा भाडामा लिएर आफैँ पकाएर बस्नसमेत सक्ने व्यवस्था रहेको छ। म्याग्दी नदीको असला माछा यहाँको विशेष परिकार मानिन्छ।

