ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था

चितवन, ३० फागुन – जिल्ला प्रशासन कार्यालय चितवन ले एलपी ग्यासको बिक्री–वितरणलाई थप व्यवस्थित र पारदर्शी बनाउन नयाँ व्यवस्था लागू गरेको छ। बजारमा ग्यास आपूर्ति तथा वितरणमा देखिएका समस्या समाधानका लागि सरोकारवालासँग शुक्रबार भएको छलफलपछि प्रशासनले आवश्यकतामुखी वितरण प्रणाली लागू गर्दै अनियमितता नियन्त्रणका लागि विशेष निगरानी बढाउने निर्णय गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा द्वारा हस्ताक्षरित सूचनाअनुसार ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, पूर्ण रूपमा अशक्त तथा अपाङ्गता भएका व्यक्ति तथा कोठा भाडामा बस्ने विद्यार्थीलाई प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराइनेछ। यी लक्षित वर्गका व्यक्तिलाई ग्यास प्राप्त गर्न समस्या भएमा प्रशासनको टोल–फ्री नम्बर १६६०–५६५२००१ मा सम्पर्क गर्न सकिने जनाइएको छ।

नेपाल आयल निगम को निर्णयअनुसार ग्यास उद्योगी तथा विक्रेताले आफूले प्राप्त गरेको र बिक्री गरेको ग्यासको स्पष्ट अभिलेख राख्नुपर्नेछ। सो विवरण दैनिक रूपमा प्रशासन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ। विवरणमा अनियमितता भेटिएमा कडा कारबाही गरिने प्रशासनले जनाएको छ।

प्रशासनले उपभोक्तालाई नजिकका विक्रेतासँग सम्पर्क गरेर ग्यास लिन, आवश्यकताभन्दा बढी ग्यास सञ्चित नगर्न तथा ग्यासको अभाव कम गर्न विद्युतीय चुल्हाको प्रयोग बढाउन आग्रह गरेको छ। साथै कतै ग्यास लुकाइछिपाइ वा गैरकानुनी रूपमा बिक्री भइरहेको जानकारी पाएमा टोल–फ्री नम्बर वा प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न पनि अनुरोध गरिएको छ।

Facebook Comments Box