मुन्दुम पदमार्ग : प्रकृति र संस्कृतिको सङ्गमस्थल

भोजपुर, २८ फागुन – टेम्केमैयुङ गाउँपालिकाले प्रकृति र संस्कृतिलाई आधार बनाएर मुन्दुम पदमार्गको समग्र विकासमा जोड दिएको छ । प्राकृतिक सुन्दरता, जैविक विविधता र किराँत समुदायको मौलिक परम्परालाई एकैसाथ प्रवर्द्धन गर्दै पदमार्गलाई विशिष्ट पर्यटकीय गन्तव्यका रूपमा अघि बढाइएको हो । गाउँपालिका अध्यक्ष सरोज बस्नेतका अनुसार संस्कृति र प्रकृतिको संरक्षण गर्दै पदमार्गको विकास भइरहेको छ ।

वन क्षेत्रमा जैविक विविधता जोगाउँदै वातावरणमैत्री पर्यटन विकास गर्ने नीति अवलम्बन गरिएको उहाँले बताउनुभयो । “प्रकृतिको संरक्षण नगरी पर्यटन सम्भव हुँदैन,” अध्यक्ष बस्नेतले भन्नुभयो, “यसैले संस्कृतिको संरक्षण र प्रवर्द्धनलाई सँगसँगै अघि बढाएका छौँ ।” पदमार्ग क्षेत्रमा किराँत राई समुदायको संस्कार, संस्कृति र ‘मुन्दुम’ परम्परासँग सम्बन्धित संरचना, सांस्कृतिक प्रतीक तथा धार्मिक स्थल अवलोकन गर्न सकिन्छ ।

ठूला घाँसे मैदान, चौँरी र भेडीगोठ, स्थानीय बस्तीको जीवनशैली तथा मौलिक परिकारले पनि पर्यटकलाई आकर्षित गर्ने गरेका छन् । यहाँबाट सगरमाथा, मकालुकञ्चनजङ्घालगायत हिमशृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न सकिने भएकाले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा यो पदमार्ग पर्न थालेको छ । पछिल्लो समय पदमार्ग आसपास विश्रामस्थल, धारा, सूचना बोर्ड तथा पर्यटन सूचना केन्द्रजस्ता पूर्वाधार निर्माण गरिएको छ ।

गाउँपालिकाले स्थानीय समुदायलाई पर्यटनसँग जोडेर आयआर्जन वृद्धि गर्ने लक्ष्य पनि लिएको छ । घरबास सञ्चालन, स्थानीय उत्पादनको बजारीकरण तथा सांस्कृतिक कार्यक्रममार्फत पर्यटकलाई मौलिक अनुभव प्रदान गर्ने प्रयास भइरहेको जनाइएको छ । प्रकृति संरक्षण, सांस्कृतिक पहिचानको प्रवर्द्धन र दिगो पर्यटन विकासलाई सँगसँगै अघि बढाउँदै मुन्दुम पदमार्ग पूर्वी नेपालको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ ।

Facebook Comments Box