सिँचाइ अभावले कञ्चनपुरमा चैते धानखेती घट्दै

कञ्चनपुर, २८ फागुन – कञ्चनपुरमा चैते धान खेती गर्ने किसानको सङ्ख्या बर्सेनि घट्दै गएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरप्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको तथ्याङ्कअनुसार सिँचाइ अभावका कारण चैते धान खेतीको क्षेत्रफल घट्दै गएको हो । पहिले करिब ४०० हेक्टर क्षेत्रमा खेती हुने चैते धान अहिले घटेर करिब १५० हेक्टरमा सीमित भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

केन्द्रका सहायक बाली विकास अधिकृत धर्मबहादुर साउँदका अनुसार किसानलाई कृषि उपकरण तथा सिँचाइका लागि बोरिङलगायतका सुविधा उपलब्ध गराइए पनि पर्याप्त पानीको अभावले खेती विस्तार हुन सकेको छैन । “चैते धानलाई धेरै सिँचाइ आवश्यक हुन्छ,” उहाँले भन्नुभयो, “५० प्रतिशत अनुदानमा बोरिङ उपलब्ध गराए पनि त्यसले सबै खेतमा पर्याप्त पानी पुर्‍याउन सकेको छैन ।”

कृषि ज्ञान केन्द्रले चैते धान प्रवर्द्धन कार्यक्रमअन्तर्गत किसानलाई बीउ, मलखाद, सिँचाइ र जोत्ने उपकरण उपलब्ध गराउँदै आएको छ । अन्य धानको तुलनामा चैते धानको उत्पादन राम्रो हुने भए पनि पानीको अभावका कारण किसानले खेती विस्तार गर्न नसकेको गुनासो गरेका छन् ।

स्थानीय किसान खुसीराम चौधरीका अनुसार चैत–वैशाख महिनामा महाकाली सिँचाइ नहरमा पानी नआउँदा बोरिङको पानीले मात्रै चैते धानका लागि पुग्दैन । सिँचाइ अभावकै कारण खेत बाँझो रहन थालेपछि धेरै किसानले चैते धान लगाउन छोडेका छन् । अर्का किसान पल्लवराज जोशीका अनुसार सिँचाइ अभावसँगै छाडाचौपायाको समस्याले पनि खेती गर्न कठिन भएको छ ।

“सिँचाइको व्यवस्था भए चैते धान खेती हाम्रो लागि निकै उपयुक्त हुन्छ,” उहाँले भन्नुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको धान जोन कार्यालयका अनुसार कञ्चनपुरमा लक्ष्यअनुसार धानखेती हुन सकेको छैन । जिल्लामा कुल एक लाख ६१ हजार ७४१ हेक्टर खेतीयोग्य जमिन रहेकोमा ५९ हजार ६०२ हेक्टर अर्थात् ३६ प्रतिशत जमिनमा मात्रै खेती हुने गरेको छ ।

यसमध्ये करिब २९ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा पुगेको छ । हाल जिल्लामा करिब ४८ हजार ६०० हेक्टर क्षेत्रमा धानखेती हुने गरेको छ । महाकाली सिँचाइ आयोजनाको पहिलो र दोस्रो चरणबाट करिब ११ हजार ६०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ ।

यस आयोजना अन्तर्गत पहिलो चरणबाट चार हजार ८०० हेक्टर र दोस्रो चरणबाट छ हजार ८०० हेक्टर क्षेत्रमा सिँचाइ उपलब्ध भएको छ । यस सिँचाइ प्रणालीबाट भीमदत्त नगरपालिका, बेदकोट नगरपालिकाबेलडाँडी गाउँपालिकाका केही क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ ।

Facebook Comments Box