मस्र्याङ्दी जलविद्युत्को मर्मतपछि पुनः उत्पादन सुरु
तनहुँ, २७ फागुन – आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् केन्द्रमा मर्मतसम्भार कार्य सम्पन्न भएपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको छ । २१ दिनसम्म प्लान्ट पूर्ण रूपमा बन्द (सटडाउन) गरेर गरिएका प्राविधिक तथा सिभिल संरचनासम्बन्धी काम निर्धारित समयमै सम्पन्न भएपछि उत्पादन सुरु गरिएको हो ।
नेपाल विद्युत् प्राधिकरणअन्तर्गत सञ्चालित यस केन्द्र क्षमताका हिसाबले तेस्रो र वार्षिक उत्पादनका दृष्टिले दोस्रो ठूलो जलविद्युत् केन्द्र मानिन्छ । केन्द्रले गत आर्थिक वर्षमा ४५१ दशमलव सात गिगावाट घण्टा विद्युत् उत्पादन गरेको थियो भने चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म २९३ दशमलव पाँच गिगावाट घण्टा उत्पादन गरिसकेको छ ।
केन्द्रको दीर्घकालीन सञ्चालन सुनिश्चित गर्न फागुन २ गतेदेखि प्लान्ट बन्द गरी मर्मतसम्भार सुरु गरिएको थियो । यस अवधिमा वर्षौंदेखि थाती रहेका जटिल र चुनौतीपूर्ण कार्य सम्पन्न गरिएको केन्द्र प्रमुख कपिलदेव मानजनले जानकारी दिनुभयो ।
बाँध क्षेत्रको माथिल्लो तटीय भाग र डिसेन्डर नजिक कटानका कारण जोखिममा परेको संरचनाको संरक्षण कार्य गरिएको छ । साथै, विगत १४ वर्षदेखि सञ्चालनमा आउन नसकेको ‘अन्डर स्लुइस गेट’ को क्षतिग्रस्त संरचना मर्मत गरी सञ्चालनयोग्य बनाइएको छ । यो संरचनाले सुरुङभित्र बालुवा छिर्न नदिन महत्वपूर्ण भूमिका खेल्ने जनाइएको छ ।
मुख्य इन्टेक नजिक रहेको कम्पनसेटिङ पोखरीमा वर्षौंदेखि जमेको बालुवा हटाउने काम पनि यही अवधिमा सम्पन्न गरिएको छ । यसका साथै विद्युत्गृहको युनिट नम्बर–३ को ओभरहलिङ कार्य केन्द्रका कर्मचारी तथा अन्य जलविद्युत् केन्द्रका प्राविधिकको सहभागितामा गरिएको थियो ।
बाँध क्षेत्रमा भइरहेको सिभिल मर्मत कार्यका लागि तीन सिफ्टमा २४सै घण्टा जनशक्ति परिचालन गरिएको केन्द्रले जनाएको छ । खोलाको बहाव न्यून रहेको समयमा उत्पादनमा कम असर पर्ने गरी मर्मतको योजना बनाइएको बताइएको छ । मर्मतसम्भारसँगै केन्द्रको उत्पादन क्षमता सुधार हुने तथा प्राविधिक जोखिम कम हुने विश्वास गरिएको छ ।

