म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन विजय नजिक
म्याग्दी, २३ फागुन – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत म्याग्दीमा जारी मतगणनामा स्वतन्त्र उम्मेदवार महाविर पुन विजयनजिक पुग्नुभएको छ। करिब चार हजार मत गणना बाँकी रहँदा उहाँ १२ हजार ६०० भन्दा बढी मतान्तरले अग्रस्थानमा हुनुहुन्छ। धौलागिरि, मालिका र मङ्गला गाउँपालिका, बेनी नगरपालिका तथा रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका ४१ वडाको मतगणना सकिँदा पुनले २० हजार २०८ मत प्राप्त गर्दै अग्रता कायम गर्नुभएको हो।
पुनको गृहपालिका अन्नपूर्ण गाउँपालिकाको वडा नं. ५, ६, ७ र ८ का तीन हजार ९०६ मत गणना हुन बाँकी रहेको छ। उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का हरिकृष्ण श्रेष्ठले हालसम्म सात हजार ५२४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिनुभयो।
यसैगरी नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले छ हजार २७५ मत प्राप्त गर्नुभएको छ भने नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले तीन हजार ४१२ मत प्राप्त गर्नुभएको छ। बिहीबार सम्पन्न मतदानमा म्याग्दीमा ८६ हजार ३९७ मतदाता रहेकामा ४६ हजार २१५ मत खसेको थियो। हालसम्म ४२ हजार ४४५ मत गणना सम्पन्न भइसकेको छ।

