प्रतिनिधिसभा सदस्य निर्वाचनः आज देशभर मतदान

काठमाडौँ, २१ फागुन -‘जेनजी आन्दोलन’पछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज देशभर मतदान हुँदैछ। ७७ वटै जिल्लामा बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ।सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि यो प्रतिनिधिसभाको तेस्रो निर्वाचन हो। यसअघि २०७४ र २०७९ सालमा निर्वाचन सम्पन्न भएको थियो।

आज ‘पहिलो हुने निर्वाचित हुने’ (प्रत्यक्ष) निर्वाचन प्रणालीअन्तर्गत १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि मतदान हुँदैछ। प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ राजनीतिक दल प्रतिस्पर्धामा छन्। यस प्रणालीअन्तर्गत तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी मैदानमा छन्।

समानुपातिक प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन्। निर्वाचन आयोग का अनुसार यस निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन्। थप एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम गरिएको छ।

निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएका छन् भने १४३ अस्थायी मतदानस्थल तोकिएका छन्। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त तथा गर्भवतीलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको छ।

सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धानका कर्मचारी र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका छन्। निर्वाचन सञ्चालनका लागि दुई लाख १५ हजार कर्मचारी परिचालन गरिएको छ। आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ कुल चार करोड २२ लाख ५१ हजार २०० मतपत्र छपाइ गरी मतदान केन्द्रमा पु¥याइसकेको जनाएको छ।

यसपटक चार अन्तरराष्ट्रिय र ३९ राष्ट्रिय संस्थाले निर्वाचन पर्यवेक्षण गरिरहेका छन्। राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की तथा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी लगायतले मतदातालाई उत्साहजनक रूपमा मतदानमा सहभागी हुन आह्वान गरेका छन्।

Facebook Comments Box