सजिलो पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘चखेवा भञ्ज्याङ’

भोजपुर, २२ साउन

भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिकामा अवस्थित ‘चखेवा भञ्ज्याङ’ पछिल्ला वर्षहरूमा पर्यटकका लागि आकर्षक र सहज गन्तव्यका रूपमा विकसित हुँदै गएको छ। प्राकृतिक सौन्दर्यले भरिएको यो स्थलमा पूर्वाधार विस्तारसँगै पर्यटकहरूको आवागमन बढ्न थालेको हो।

समुन्द्र सतहबाट २,३५१ मिटर उचाइमा रहेको चखेवा भञ्ज्याङ भोजपुर सदरमुकामबाट करिब ४० किलोमिटर दूरीमा पर्दछ। कालोपत्रे सडकको पहुँच पुगेपछि यहाँ पुग्न अब सजिलो भएको छ। स्थानीय परिकारको स्वाद लिँदै, हरियाली पहाड र शान्त वातावरणको अनुभव लिन पर्यटकहरू आउने गरेका छन्।

गाउँपालिका अध्यक्ष सरोज बस्नेतका अनुसार चखेवालाई पर्यटनसँग जोडेर संस्कार, संस्कृति र सभ्यताको क्षेत्रका रूपमा विकास गर्ने योजना अघि सारिएको छ। मध्य पहाडी लोकमार्गसँगै मुन्दुम पदमार्गको केन्द्रविन्दुका रूपमा रहेको चखेवा क्षेत्रमा अब सहरीकरण र बस्ती विस्तारमा पनि प्राथमिकता दिइँदैछ। उहाँले भन्नुभयो, “चखेवा हाम्रो गाउँपालिकाको एक महत्वपूर्ण पर्यटकीय क्षेत्र हो। यो स्थानलाई पूर्वी नेपालको स्थापित गन्तव्य बनाउन हामी प्रतिबद्ध छौँ।”

सांस्कृतिक सङ्ग्रहालय र पार्क निर्माणको तयारी

अध्यक्ष बस्नेतले चखेवा क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि बृहत् सांस्कृतिक सङ्ग्रहालय, पार्क तथा संस्कृति अध्ययन केन्द्र निर्माण गर्ने योजना पनि अघि सारिएको जानकारी दिनुभयो। सो कार्यका लागि केन्द्र सरकारबाट करिब रु ३ करोड बजेट विनियोजन गरिएको छ र जग्गा खोजीको प्रक्रिया अघि बढाइएको छ।

उहाँले थप भन्नुभयो, “यो क्षेत्र प्राकृतिक रूपमा नै अनुपम छ। हामीले यहाँको मौलिक संस्कार र सांस्कृतिक पहिचानको संरक्षणसँगै पर्यटकको सहजतामा पनि ध्यान दिइरहेका छौँ।”

मेला, महोत्सव र आर्थिक समृद्धिमा जोड

गाउँपालिकाका उपाध्यक्ष रमादेवी राईले चखेवाको पर्यटन विकाससँगै मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि विभिन्न समयमा मेला तथा महोत्सव आयोजना गरिएको बताउनुभयो। स्थानीय बासिन्दाको आर्थिक आयआर्जनमा वृद्धि होस् भन्ने उद्देश्यले गाउँपालिकाले कृषि र पर्यटनलाई समन्वित रूपमा विकास गर्ने रणनीति अवलम्बन गरिरहेको छ।

गाउँपालिकाले ‘कृषि, पर्यटन र सांस्कृतिक पूर्वाधार : टेम्केमैयुङ विकासको आधार’ भन्ने मूल नाराका साथ योजनाबद्ध रूपमा पूर्वाधार विस्तार र पर्यटन प्रवर्द्धन गर्दै आएको जनाएको छ।

Facebook Comments Box