प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’
काभ्रेपलाञ्चोक, ८ भदौ । प्राचीन तथा ऐतिहासिक सहर बनेपामा १२४ वर्षदेखि निरन्तर हुँदै आएको कन्या–पूजा यस वर्ष पनि आयोजना गरिने भएको छ । रजस्वला नभएका १० वर्षमुनिका कन्यालाई देवीका रूपमा मानेर पूजा गर्ने यो परम्परा विसं १९५९ देखि निरन्तर चल्दै आएको हो । यस वर्ष भदौ १९ गते कन्या–पूजा आयोजना गरिने सनातन कन्या–पूजा प्रबन्ध समितिले जनाएको छ ।
श्रीकृष्ण जन्माष्टमीका दिन हुने मुख्य पूजामा काभ्रेपलाञ्चोकसहित छिमेकी जिल्लाबाट करिब आठदेखि १० हजार कन्या सहभागी हुने गरेका छन् । बनेपाको भोलाखाँ टोलदेखि लायकु दरबार, पुरानो बजार हुँदै चारदोबाटोसम्म सडकका दायाँबायाँ कन्यालाई राखेर पूजा गर्ने परम्परा छ ।
पूजामा सहभागी प्रत्येक कन्यालाई तोरीको तेल लगाएर रातो टीका लगाइदिने तथा स्वारी, मालपुवा, जेरी, बिस्कुट, छोकडा, काजु र विभिन्न मिठाईसहित प्रसाद वितरण गर्ने गरिन्छ । समितिका अनुसार प्रत्येक कन्याका लागि करिब पाँच सय रुपैयाँ बराबरका सामग्री उपलब्ध गराइन्छ ।
समितिका सचिव प्रकाश कायस्थका अनुसार यस वर्ष पूजाका लागि आवश्यक सामग्रीको तयारी सुरु भइसकेको छ । करिब आठदेखि १० हजार कन्या सहभागी हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो । कन्या पूजा गरेमा निरोगी हुने र मनले चिताएको पूरा हुने जनविश्वास रहिआएको छ । किंवदन्तीअनुसार कन्याहरूलाई चण्डेश्वरी देवीको कुमारी स्वरूप मानेर पूजा गर्ने परम्परा बनेपामा सुरु भएको हो ।
सुरुमा नेवार समुदायका कन्यामात्र पूजिने गरे पनि पछिल्ला वर्षमा जातजातिको भेदभाव नगरी सबै समुदायका कन्यालाई पूजामा सहभागी गराउने गरिएको स्थानीयले बताएका छन् । बनेपामा सुरु भएको यो परम्परा पछिल्ला वर्षमा धुलिखेल, पनौती, पाँचखाल, दोलालघाटलगायतका क्षेत्रमा समेत विस्तार हुँदै गएको छ ।

