मौन अवधि सुरु, के–के गर्न पाइँदैन ?

काठमाडौँ, १९ फागुन – बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मौन अवधि सुरु भएको छ। निर्वाचन आयोगले तोकेको प्रचारप्रसारको समय सोमबार मध्यरात १२ बजेबाट सकिएसँगै अब मतदान सम्पन्न नभएसम्म मौन अवधि कायम रहनेछ।

निर्वाचन हुनुभन्दा ४८ घण्टाअघिदेखि लागू हुने मौन अवधिमा कुनै पनि दल वा उम्मेदवारको पक्ष–विपक्षमा प्रचारप्रसार, भाषण, भेला, छलफल, समीक्षा तथा निर्वाचनलाई प्रभाव पार्ने गतिविधि गर्न पाइँदैन। मत माग्ने, पोस्ट गर्ने, जुलुस वा हिँडडुलमार्फत मतदातालाई प्रभावित पार्ने प्रयास गर्नसमेत निषेध गरिएको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मौन अवधिमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले आर्थिक कारोबार गरेको पाइएमा उम्मेदवारी खारेज हुनुका साथै छ वर्षसम्म कुनै पनि निर्वाचन प्रक्रियामा भाग लिन नपाउने सजाय हुन सक्छ।

आयोगले निर्वाचनलाई प्रभाव पार्ने गतिविधिमाथि शून्य सहनशीलताको नीति अवलम्बन गरिने स्पष्ट पारेको छ। मौन अवधिले मतदातालाई स्वच्छ र स्वतन्त्र वातावरणमा विवेकपूर्ण ढङ्गले मतदान गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

मौन अवधिमा गर्न नपाइने मुख्य कार्यहरू:

  • प्रचारसभा, जुलुस, गोष्ठी, अन्तरक्रिया आयोजना गर्ने

  • सामाजिक सञ्जाल (फेसबुक, भाइबर, एसएमएस आदि) मार्फत मत माग्ने वा प्रचार सामग्री सेयर गर्ने

  • उम्मेदवार वा दलको पक्ष–विपक्षमा समाचार, सूचना वा विज्ञापन प्रकाशन/प्रसारण गर्ने

  • मतदान केन्द्रको ३०० मिटर वरिपरि प्रचार सामग्री राख्ने

निर्वाचन आचारसंहिताअनुसार मौन अवधि सुरु हुनुअघि मतदान केन्द्र वरपर राखिएका प्रचार सामग्री हटाइसक्नुपर्ने व्यवस्था छ। आयोगका अनुसार मौन अवधि निर्वाचन व्यवस्थापनका दृष्टिले पनि महत्त्वपूर्ण छ। यस अवधिमा मतदान केन्द्रको तयारी, सुरक्षा व्यवस्थापन तथा आवश्यक बन्दोबस्तका कामहरू शान्त वातावरणमा सम्पन्न गरिन्छ। विश्वका विभिन्न मुलुकमा २४ देखि ७२ घण्टासम्म मौन अवधि कायम गर्ने प्रचलन रहेको छ।

Facebook Comments Box