वार्ताबाट समस्या समाधान खोज्न विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह
काठमाडौँ, १८ फागुन – विद्यादेवी भण्डारीले युद्ध, हिंसा र सशस्त्र मुठभेडको सट्टा अन्तरराष्ट्रिय कानुनको सम्मान गर्दै वार्ता, संवाद र कूटनीतिक माध्यमबाट समस्या समाधान खोज्न विश्व समुदायलाई आग्रह गर्नुभएको छ।
फागुपूर्णिमा (होली) का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले युद्धग्रस्त क्षेत्रमा रहेका नेपाली नागरिकलाई विशेष सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ। साथै, नेपाल सरकारलाई आफ्ना नागरिकको सुरक्षाका लागि आवश्यक पहल र तयारी गर्न ध्यानाकर्षण गराउनुभएको छ।
उहाँले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई राष्ट्रका लागि महत्वपूर्ण अवसरका रूपमा उल्लेख गर्दै राष्ट्रको सर्वोपरि हितलाई केन्द्रमा राखी विवेकपूर्ण ढङ्गले मतदान प्रक्रियामा सहभागी हुन सम्पूर्ण मतदातासमक्ष आग्रह व्यक्त गर्नुभएको छ।
नेपालमा राजनीतिक स्थिरता, दिगो शान्ति तथा लोकतान्त्रिक प्रणालीको रक्षा र सुदृढीकरणका लागि आसन्न निर्वाचन महत्वपूर्ण हुने उहाँको भनाइ छ। रङ्ग, उत्साह र उल्लासले भरिएको होली पर्वले नेपालीबीच आपसी प्रेम, सद्भाव र सहिष्णुताको भावना बलियो बनाउँदै राष्ट्रिय एकता थप सुदृढ पार्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ।
सत्य, न्याय र सदाचारको सन्देश बोकेको फागुपूर्णिमा पर्वले समाजमा विद्यमान विकृति र नकारात्मक प्रवृत्तिको अन्त्य गर्दै सभ्य, शान्त र सुसंस्कृत समाज निर्माणमा प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत उहाँले गर्नुभएको छ।

