आगलागीका घटनामा वृद्धि, सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ, १८ फागुन – देशभर आगलागीका घटनामा उल्लेख्य वृद्धि भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका अनुसार फागुन १६ गते बिहान १० बजेदेखि १७ गते बिहानसम्म कुल २३ वटा विपद्का घटना दर्ता भएका छन्, जसमध्ये २२ वटा आगलागीसँग सम्बन्धित रहेका छन्। एक मात्र घटना पहिरोसँग सम्बन्धित थियो।

प्राधिकरणका अनुसार विपद्का कारण एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। घटनाबाट करिब रु ५२ लाख ४५ हजार बराबरको धनमाल क्षति भएको जनाइएको छ। सामान्य सावधानी अपनाउँदा जोगिन सकिने प्रकृतिका आगलागीबाट ठूलो क्षति भएको प्राधिकरणले उल्लेख गरेको छ।

पाँचथर, झापा, मोरङ, सुनसरी र धनकुटामा एक–एक स्थानमा आगलागी भएका छन् भने सप्तरी, धनुषा, पर्सा र कैलालीका दुई–दुई स्थानमा आगलागीका घटना भएका छन्। यस्तै सर्लाही, मकवानपुर, काभ्रेपलाञ्चोक, काठमाडौँ, गोरखा, लम्जुङ, पाल्पा र प्यूठानका एक–एक स्थानमा पनि आगलागी भएको जनाइएको छ। बिजुलीको तार सर्ट हुनु र दियो बालेर छाड्नु आगलागीका मुख्य कारण रहेको प्राधिकरणले जनाएको छ।

हिउँद याममा सुक्खा बढ्ने भएकाले आगलागीको जोखिम उच्च रहने भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। तथ्याङ्कअनुसार फागुन १६ गते दर्ता भएका आठ विपद्का घटनामध्ये सातवटा आगलागीका थिए भने फागुन १५ गते दर्ता भएका १९ घटनामध्ये १७ वटा आगलागीका रहेका थिए। यसले देशभर आगलागीका घटनामा क्रमिक वृद्धि भइरहेको संकेत गरेको प्राधिकरणले जनाएको छ।

Facebook Comments Box