उम्मेदवारसँग माग राख्न नपाउँदा निराश छन् बादी समुदाय

कञ्चनपुर, १८ फागुन – मुलुकभर चुनावी चहलपहल बढिरहँदा कञ्चनपुरको दोधारा चाँदनी–३ स्थित बडुवाल टोलको बादी बस्ती भने सुनसान देखिएको छ। दल र उम्मेदवार मतदाता रिझाउन व्यस्त रहे पनि गरिबी, अशिक्षा र बेरोजगारीको चपेटामा परेको सीमान्तकृत बादी समुदाय आफूहरू राज्य तथा राजनीतिक दलको प्राथमिकतामा नपरेको गुनासो गर्छ।

झन्डै तीन दशकदेखि बसोबास गर्दै आएको उक्त बस्तीमा बादी समुदायसहित अन्य समुदायका एक सयभन्दा बढी परिवार बसोबास गर्दै आएका छन्। भारतसँग सीमा जोडिएको यस क्षेत्रमा अधिकांश स्थानीय दैनिक मजदुरी र भारतमुखी रोजगारीमा निर्भर छन्। चुनावका बेला दलहरूले आफ्नो समुदायका लागि विशेष योजना ल्याउने अपेक्षा गरे पनि उम्मेदवारहरू भोट माग्नसमेत नआएपछि उनीहरू निराश बनेका छन्।

स्थानीय बिरभाने बादीका अनुसार अहिलेसम्म कुनै पनि नेता बस्तीमा नपुगेको बताउँदै उनले जङ्गली जनावरको त्रासका कारण राति भाग्नुपर्ने अवस्थाबारे आफ्ना माग राख्ने अवसरसमेत नपाएको गुनासो गर्नुभयो। सीता बादीका अनुसार सीमा क्षेत्र भएकाले गरिबी, बेरोजगारी, हात्ती आतंक, बाढी तथा कटान, सुकुम्बासी समस्या, अवैध तस्करी र सीमा विवाद यहाँका प्रमुख समस्या हुन्।

उम्मेदवारहरू घरदैलोमा नआएपछि आफ्ना पीडा सुनाउने अवसरसमेत नपाएको उनको भनाइ छ। रेशम बादीले आर्थिक अभावका कारण बालबालिका पढाइ छोडेर रोजगारीका लागि भारत जान बाध्य हुने अवस्था रहेको उल्लेख गर्नुभयो। “नेता आउलान् र माग राखौँला भन्ने थियो, तर कोही आएनन्,” उहाँले भन्नुभयो।

केन्द्रीय तथ्यांक विभागअन्तर्गतको राष्ट्रिय जनगणना २०७८ अनुसार सुदूरपश्चिम प्रदेशमा बादी समुदायको जनसङ्ख्या दुई हजार ५८० रहेको छ भने कञ्चनपुरमा मात्रै ४५८ जना रहेका छन्। भूमिहीनता, गरिबी र अशिक्षाका कारण यो समुदाय अझै पनि दयनीय अवस्थामै रहेको स्थानीयको भनाइ छ।

Facebook Comments Box