असोजमै फुल्यो ‘पलम’

दाङ,  ३० असोज – दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा असोजमै पलमको फूल फुलेको छ। स्थानीय पूर्णबहादुर पुनको घरमा लगाइएको पलम असोज १५ गतेदेखि नै फुल्न थालेको हो। सामान्यतः पलम फागुन–चैततिर फुल्ने भए पनि यस वर्ष असोजमै फूल फुल्न थालेपछि स्थानीयवासीहरू अचम्मित भएका छन्।

“विगतमा फागुन÷चैतमा मात्र फूल फुल्थ्यो, यो वर्ष असोजमै फुल्यो,” स्थानीय प्रविर पुनले बताए। छिल्लीकोटका अधिकांश घरमा पलमका बोट रहेका छन्। तीमध्ये पुनको बोटमा यसपालि सबैभन्दा पहिले फूल फुलेको हो।
गएको वर्ष यही क्षेत्रमा पुसमै काफल पाकेको घटनासमेत स्थानीयले स्मरण गरेका छन्।

वनस्पतिविज्ञ खेमराज शर्माका अनुसार यसरी समयभन्दा अघि फूल फुल्नु जलवायु परिवर्तनको प्रत्यक्ष संकेत हो। “तापक्रम अस्वाभाविक रूपमा उच्च हुँदा वनस्पतिहरूमा यस्ता परिवर्तन देखिन्छन्,” उहाँले बताए,
“हाल धेरै बिरुवामा यस्तो प्रभाव देखिन थालेको छ।”

Facebook Comments Box