सिधा सडकले जोडियो ढोरपाटन–तकसेरा

बागलुङ, १८ फागुन – बागलुङको ढोरपाटन र रुकुम पूर्वको तकसेरा गाउँ सिधा सडक सञ्जालमार्फत जोडिएका छन्। बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोर हुँदै रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकास्थित तकसेरा गाउँ सडकमार्फत जोडिएको हो।

ढोरपाटन नगरपालिका–९ का वडाध्यक्ष खिमबहादुर घर्ती मगरका अनुसार दुवै जिल्लाबाट सडक निर्माण हुँदै आएकोमा निसेलढोर नजिकैको मनिमर्फेस क्षेत्रमा सडक जोडिएको हो। लामो समयदेखि रोकिएको काम ढोरपाटन सिकार आरक्षको अनुमति पाएपछि सम्पन्न भएको उहाँले जानकारी दिनुभयो।

सडक सञ्चालनमा आएपछि पश्चिम बागलुङ र पूर्वी रुकुमबीचको यात्रा दूरी घटेको छ। यसअघि बुर्तिबाङ बजारदेखि निसेलढोरसम्म सडक पुगे पनि त्यसभन्दा माथिल्लो क्षेत्रमा विस्तार हुन सकेको थिएन। वडाध्यक्ष घर्ती मगरका अनुसार बुर्तिबाङ–ढोरपाटन दूरी ३१ किलोमिटर र ढोरपाटन–तकसेरा ३७ किलोमिटर रहेको छ। अब बुर्तिबाङदेखि ६८ किलोमिटर दूरी पार गरेपछि तकसेरा पुग्न सकिनेछ।

यसअघि तकसेराका स्थानीयलाई मध्यपहाडी लोकमार्ग हुँदै रुकुमको काँक्री क्षेत्रबाट लामो यात्रा गर्नुपर्ने बाध्यता थियो। ढोरपाटन हुँदै सिधा सडक जोडिएपछि यात्रा छोटिएको जनाइएको छ। ढोरपाटन नगरपालिकाका कार्यवाहक प्रमुख धनबहादुर कायतले लामो प्रयासपछि सडक जोड्न सफल भएको बताउनुभयो।

सिकार आरक्षको अनुमति अभावमा वर्षौँदेखि रोकिएको काम चालु आर्थिक वर्षमा विनियोजित रु १२ लाख ५० हजार बजेटबाट ‘ट्र्याक’ खोल्दै सम्पन्न गरिएको उहाँको भनाइ छ। सडक सञ्चालनमा आएपछि तकसेरावासीलाई बागलुङसहित पोखरा र काठमाडौँसम्म पुग्न सहज हुने तथा स्थानीय उत्पादनको बजारीकरणमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

Facebook Comments Box