नगद तथा गरगहनासहित एक जना पक्राउ

काठमाडौँ, १७ पुस – काठमाडौँ महानगरपालिका–४ बालुवाटारस्थित विभिन्न कम्पनीबाट ठूलो रकम तथा गरगहना चोरी गरी फरार रहेका एक जनालाई प्रहरीले चोरिएको नगदसहित पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार बालुवाटारस्थित स्टोर्म नेटवर्क प्रालिबाट रु ४८ लाख ७२ हजार र इको भ्याली प्रालिबाट रु आठ लाख ५८ हजार चोरी गरेको अभियोगमा काठमाडौँ महानगरपालिका–२ खुर्सीनिटारका २४ वर्षीय दुर्गाबहादुर केसी पक्राउ परेका हुन् ।

कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक प्रविण धितालका अनुसार यही पुस १२ गते राति चोरी गरी फरार रहेका केसीलाई दाङ प्रहरीको सहयोगमा नगदसहित पक्राउ गरिएको हो ।

खोजतलासका क्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरसँगको समन्वयमा उनलाई तुलसीपुर उपमहानगरपालिका–६ बाट पक्राउ गरी काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका केसीको साथबाट प्रहरीले रु ६५ लाख १७ हजार नगद, चाँदीका ब्रास्लेट १५ थान, चाँदीका सिक्का २८ थान, चाँदीजस्तै देखिने सेतो धातुको एक थान र एक थान ल्यापटप बरामद गरेको उपत्यका प्रहरीले आज सार्वजनिक गरेको विवरणमा उल्लेख गरेको छ ।

Facebook Comments Box