उत्तरगङ्गा नदीमा छानोसहितको साँघु निर्माण
बागलुङ, १७ फागुन – ढोरपाटन नगरपालिकाले उत्तरगङ्गा नदीमा छानोसहितको नयाँ साँघु निर्माण गरेको छ। स्थानीय बासिन्दा र पर्यटकलाई वारपार गर्न सहज बनाउने उद्देश्यले चालु आर्थिक वर्षमा उक्त संरचना निर्माण गरिएको हो।हरेक वर्ष वर्षायाममा उत्तरगङ्गा नदीमा पानीको बहाव बढ्दा ढोरपाटन बराह मन्दिर क्षेत्रदेखि पारिपट्टिको सेलपाखे, सिकार आरक्ष कार्यालयलगायत स्थानमा पुग्न पैदलयात्रा गर्नुपर्ने बाध्यता रहेको थियो।
नगरपालिकाका उपप्रमुख धनबहादुर कायतका अनुसार रु नौ लाख ५० हजारको लागतमा मौलिक शैलीमा साँघु निर्माण गरिएको हो। साँघुको सतहमा सिमेन्ट ढलान गरिनुका साथै काठ र ढुङ्गाबाट छानो तयार गरिएको छ। उपप्रमुख कायतले पछिल्लो समय ढोरपाटन क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दो रहेकाले सुरक्षित आवागमनका लागि संरचना आवश्यक रहेको बताउनुभयो।
पुल अभावमा वर्षायाममा जोखिम मोलेर खोला तर्नुपर्ने अवस्था अन्त्य भएको उहाँको भनाइ छ। ढोरबहार मन्दिरदेखि स्यालपाखेसम्म जोड्ने गरी निर्माण गरिएको उक्त साँघुले स्थानीय आवागमन मात्र होइन, ढोरपाटन सिकार आरक्ष, बुकीपाटन र जलजला क्षेत्र जाने पर्यटकलाई समेत सुविधा पुगेको छ। यसअघि पर्यटकले नवी र मोराङ दोगाडी घाटस्थित झोलुङ्गे पुल प्रयोग गर्न घण्टौँ लगाउनुपर्ने अवस्था थियो।

