अरनिको राजमार्ग सञ्चालनमा, साना–ठूला सवारी आवतजावत सुरू
काठमाडौं, ५ भदौ
पहिरोका कारण अवरुद्ध भएको अरनिको राजमार्गको कोदारी खण्ड सञ्चालनमा आएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार नेपाल–चीन व्यापारिक नाका तातोपानी जोड्ने यो खण्ड आजदेखि फेरि खुला भएको हो।
कोदारी नजिकै गएको पहिरोले सडक अवरुद्ध पारेपछि सडक विभागको प्राविधिक टोली यन्त्र–उपकरणसहित खटिएको थियो। विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार पहिरोको कारण माथिल्लो बस्ती पनि जोखिममा परेकाले काम चुनौतीपूर्ण बनेको थियो। “पहाडी भौगोलिक अवस्था र लेदो बग्ने समस्या दोहोरिने भएकाले दीर्घकालीन समाधानका लागि नयाँ डिजाइनअनुसार काम भइरहेको छ,” उनले बताए।
ग्याविन पर्खाललगायत संरचनाको निर्माण गरी भविष्यमा अवरोध न्यून पार्ने प्रयास भइरहेको विभागले जनाएको छ। यसै क्रममा विज्ञसमेत सहभागी टोलीले पहिरो नियन्त्रणका स्थायी उपायबारे अध्ययन जारी राखेको छ।
संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपानेका अनुसार पहिलो चरणमा साना तथा हलुका सवारी सञ्चालन गरिएको थियो भने आज अपराह्नदेखि ठूला सवारीसाधन पनि चल्न थालेका छन्।
यातायात सहज बनाउन प्राविधिक र उपकरण अझै स्थलमै परिचालित छन्। चाडपर्व नजिकिँदै गरेका बेला राजमार्ग फेरि अवरुद्ध नहोस् भनेर आवश्यक तयारी गर्न मन्त्री दाहालले निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।

