आजको मौसम : पहाडी र हिमाली क्षेत्रमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
काठमाडौँ, १३ फागुन – देशमा हाल पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव कायम रहेको छ। यसको प्रभावका कारण बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ भने अन्य पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान तराईका केही स्थानमा हुस्सु लाग्नेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्र तथा अन्य प्रदेशका हिमाली भूभागमा सामान्य बदली रहने जनाइएको छ। तराई क्षेत्रमा दिउँसो मौसम मुख्यतया सफा रहनेछ।
यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति तराईका केही स्थानमा तुवाँलो लाग्ने अनुमान गरिएको छ।
गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभाग तथा अन्य प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने बाँकी पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने जनाइएको छ। महाशाखाले हुस्सु, तुवाँलो, वर्षा तथा हिमपात हुने सम्भावना रहेका क्षेत्रमा सतर्कता अपनाउन तथा यातायात सञ्चालनलगायत दैनिक कार्य सावधानीपूर्वक गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

