अबकाे तीन दिनका सम्म मौसममा सुधार, गर्मी भने फेरि बढ्ने
काठमाडौँ, २३ वैशाख – आज देखि पर्सि सम्म कतै कतै छिटपुटबाहेक वर्षाको सम्भावना नदेखिएको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौमसविद् समीर श्रेष्ठका अनुसार अबका तीन दिनका लागि मौसम सुध्रिएको हो। मौसम महाशाखाले सामान्यतया तीन दिनसम्मको मौसम अनुमान गर्ने गर्छ। ‘अहिले पनि देशभर मौसम सामान्यतया सफा छ’, उनले भने, ‘अपराह्नपछि भने कतै कतै बदलीको सम्भावना छ।’
महाशाखाका अनुसार दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदलीरही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई ठाउँमा भने मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।
मौसमविद्का अनुसार एक–दुई ठाउँमा वर्षाको सम्भावना देखिनु पानी पर्ने सम्भावना कम हुनु हो। आजलाई काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना नदेखिएको मौसमविद् श्रेष्ठले बताए। ‘आज काठमाडौँ उपत्यकामा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने देखिन्छ’, उनले भने।
यस्तै आज राति सुदूरपश्चिम,कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। सुदूरपश्चिम, कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई ठाउँमा भने मेघगर्जन÷चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।
‘पर्सिसम्म नै खासै वर्षाको सम्भावना देखिएको छैन’, मौसमविद् श्रेष्ठले भने, ‘पूर्वमा कोशी र पश्चिममा कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एक–दुई ठाउँमा मात्र क्षणिक वर्षाको सम्भावना देखिएको छ।’ तर मौसम सफा हुँदा घाम लाग्ने र तापक्रम बढ्ने भएकाले गर्मी भने फेरि बढ्ने देखिन्छ।

