वैकुण्ठेमा व्यावसायिक स्याउ खेती विस्तार

भोजपुर, ११ फागुन – रामप्रसाद राई गाउँपालिका–६ वैकुण्ठेका किसानले व्यावसायिक स्याउ खेती सुरु गरेका छन् । वडास्तरमा स्याउ खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएपछि स्थानीय किसान संगठित रूपमा यसतर्फ आकर्षित भएका हुन् ।

बाक्पा, भामला, माथिल्लो छापगाउँको दिङ्ला र चोक्ताङ क्षेत्रमा करिब एक हजार उन्नत जातका स्याउका बिरुवा विस्तार गरिएको छ । सोलुखुम्बुबाट ल्याइएका कलमी बिरुवा किसानलाई वितरण गरिएको हो । गत वर्ष साम्के र तामालुङ गाउँमा मात्रै १०० रोपनीभन्दा बढी क्षेत्रफलमा करिब एक हजार ८०० बिरुवा रोपिएको जनाइएको छ ।

स्थानीय किसान पाण्डव राईका अनुसार साम्के र तामालुङका ३६ जना किसानले १०० रोपनी क्षेत्रफलमा स्याउ खेती विस्तार गरेका छन् । वडाबाट ५० प्रतिशत लागत साझेदारी अनुदान उपलब्ध गराइएपछि किसान उत्साहित भएका हुन् ।वडाध्यक्ष एकराज आचार्यले वडाभित्रको कृषियोग्य जमिनमा भूगोल र माटोअनुकूल खेती प्रणाली अवलम्बन गर्न विशेष जोड दिइएको जानकारी दिनुभयो ।

स्याउ उत्पादनका लागि उपयुक्त क्षेत्र पहिचान गरी व्यावसायिक खेतीलाई प्राथमिकतामा राखिएको उहाँको भनाइ छ । स्थानीय माटो र हावापानी स्याउ उत्पादनका लागि उपयुक्त देखिएकाले क्षेत्रलाई स्याउको नमूना क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ । यसअघि पनि वडाले व्यावसायिक सुन्तला खेती प्रवर्द्धनका लागि नर्सरी स्थापना गरी स्थानीय किसानलाई बिरुवा उपलब्ध गराउँदै आएको जनाएको छ ।

Facebook Comments Box