निर्वाचन ११ दिन बाँकी, ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम जारी

काठमाडौँ, १० फागुन – निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोग ले देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रमलाई तीव्रता दिएको छ। निर्वाचनलाई बढीभन्दा बढी सहभागितामूलक बनाउने र बदर मतको प्रतिशत घटाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोगले जनाएको छ।

आयोगका अनुसार यही फागुन ३ गतेदेखि १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको छ। स्वयंसेवकले मतदाताको बस्ती तथा घरदैलोमै पुगेर नमूना मतपत्रमार्फत मतदान प्रक्रिया र मताधिकारको महत्वबारे जानकारी गराइरहेका छन्।

मतदाता शिक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहमा तोकिएका सम्पर्क व्यक्तिलाई अनुगमनकर्ताको जिम्मेवारी दिइएको र अभिमुखीकरण कार्यक्रमसमेत सम्पन्न गरिएको आयोगले जनाएको छ।

त्यसैगरी निर्वाचन आचारसंहिता उल्लङ्घन, मिथ्या तथा भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति नियन्त्रणका लागि आयोगले निगरानीलाई कडाइ गरेको छ। आयोगअन्तर्गत स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रको सूचना सदाचार प्रवर्द्धन एकाइ पूर्ण रूपमा क्रियाशील रहेको जनाइएको छ।

आयोगका अनुसार हानिकारक सूचना उत्पादन तथा सम्प्रेषण गर्ने २९० कन्टेन्ट उत्पादक र प्रसारकलाई नेपाल प्रहरीको साइबर ब्यूरो मा विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाहीका लागि उजुरी गरिएको छ। साथै ११ वटा प्रकरण नेपाल दूरसञ्चार प्राधिकरण मा, ६५ वटा प्रेस काउन्सिल नेपाल मा र एक वटा विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ बमोजिम सम्बन्धित निकायमा कारबाहीका लागि पठाइएको आयोगले जनाएको छ।

Facebook Comments Box