देशभर १५ स्थानमा आगलागी, १९ विपदका घटना

काठमाडौँ, ६ फागुन – राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार फागुन ४ गते बिहान १० बजेदेखि फागुन ५ गते बिहानसम्म देशभर १९ वटा विपदका घटना भएका छन्। प्राधिकरणका अनुसार तीमध्ये १५ वटा आगलागीका घटना रहेका छन्। असावधानीका कारण आगलागीका घटनामा वृद्धि भएको विवरणमा उल्लेख छ। हिउँदको मौसममा सामान्य सावधानी अपनाउँदा रोक्न सकिने प्रकृतिका आगलागीका घटना भएको जनाइएको छ।

तेह्रथुम, संखुवासभा र मोरङमा एक–एक, सिरहा, सर्लाही र स्याङजामा दुई–दुई वटा आगलागीका घटना भएका छन्। यस्तै बारा, पर्सा, रुपन्देही र बझाङमा पनि आगलागीका कारण भौतिक क्षति पुगेको छ। संखुवासभा, सोलुखुम्बु र सर्लाहीमा डढेलोका घटना भएका छन् भने बैतडीमा जनावरको आक्रमणको घटना भएको छ। विभिन्न विपदका घटनामा परी छ जना घाइते भएका छन्।

करिब रु ३४ लाख १२ हजार बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ। हिउँदमा सुक्खापन बढ्ने भएकाले आगलागीको जोखिम उच्च हुने भन्दै प्राधिकरणले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणसँग आग्रह गरेको छ।

Facebook Comments Box