गुल्मीको वामी–रिडी सडकखण्ड पहिरोले अवरुद्ध, यात्रुहरू मारमा
गुल्मी, १६ असार- गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका–८ तल्लो फाँटस्थित वामी–रिडी सडकखण्डमा ठूलो पहिरो खसेपछि यातायात आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ। अविरल वर्षाका कारण खसेको पहिरोले सडक पुरिँदा सवारी साधनको आवागमन पूर्ण रूपमा ठप्प भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए।
जिल्लाको प्रमुख यातायात मार्ग मानिने वामी–रिडी सडकखण्ड अवरुद्ध भएपछि दैनिक यात्रा गर्ने सर्वसाधारण र यात्रुहरूलाई गन्तव्य पुग्न कठिनाइ भएको छ। सडक बन्द हुँदा खाद्यान्न, स्वास्थ्य सेवा तथा अन्य अत्यावश्यक काममा समेत असर परेको छ।
पहिरो गएको स्थानमा प्रहरी चौकी मजुवा, गुल्मीबाट प्रहरी सहायक निरीक्षक शिवधन प्रसाद कठरियाको नेतृत्वमा टोली खटिइसकेको छ। स्थानीय सरकार, प्रशासन, सुरक्षाकर्मी र स्थानीयवासीको सक्रिय सहयोगमा पहिरो पन्छाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मौसममा सुधार आएपछि आवश्यक उपकरण प्रयोग गरी सडक खुलाउने कार्यलाई अझ प्रभावकारी बनाइनेछ।

