विदेश पठाउने भन्दै ६५ लाखभन्दा बढी ठगी, चार जना पक्राउ

काठमाडौँ, ५ फागुन – रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रु ६५ लाख ३३ हजार ठगी गरेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई सोमबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका–६ का ५१ वर्षीय धर्मप्रसाद राई, काठमाडौँ तार्केश्वर नगरपालिका–७ की ३५ वर्षीया निमा डोल्मा लामा, झापा अर्जुनधारा–५ का ४२ वर्षीय गोविन्दप्रसाद निरौला र गोरखा गण्डकी गाउँपालिका–१ का ४३ वर्षीय सुरजबहादुर श्रेष्ठ रहेका छन्।

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार राईले अष्ट्रिया पठाइदिने भन्दै रु पाँच लाख ८५ हजार, लामाले बेलायत पठाइदिने भन्दै रु ५० लाख, निरौलाले टर्की पठाइदिने भन्दै रु दुई लाख तीन हजार तथा श्रेष्ठले रोमानिया पठाइदिने भन्दै रु सात लाख ५० हजार उठाएर विदेश नपठाई सम्पर्कविहीन भएका थिए।

पीडितको उजुरीका आधारमा अनुसन्धान गरी उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो।

Facebook Comments Box