राप्रपा फुट : राजतन्त्रको एजेण्डा कि नेतृत्वको द्वन्द्व ?
काठमाडौं, जेठ २२ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणा सहित १८३ जनाले पार्टी त्यागेको घोषणा गरेसँगै राप्रपाभित्रको आन्तरिक विवाद फेरि सतहमा आएको छ। २०४६ सालपछि स्थापना भएको राप्रपा इतिहासभरि नै विभाजन र एकीकरणको चक्रबाट गुज्रँदै आएको छ। राजसंस्था र हिन्दुराष्ट्रलाई मुख्य राजनीतिक एजेण्डा बनाएको राप्रपामा हरेकजसो विभाजनको औपचारिक कारण पनि यही एजेण्डा बन्ने गरेको छ।
तर विश्लेषकहरूका अनुसार वास्तविक विवाद प्रायः नेतृत्व, कार्यशैली र शक्ति सन्तुलनसँग जोडिएको देखिन्छ। पार्टी छाड्नुको कारण खुलाउँदै राणाले राप्रपाले वर्षौंदेखि राजसंस्था र हिन्दुराष्ट्रको नाममा मात्रै भोट मागेको, तर त्यसलाई व्यवहारमा अघि बढाउन नसकेको आरोप लगाएका छन्। उनले पार्टी नेतृत्व राजसंस्था पुनर्स्थापनाको पक्षमा प्रभावकारी रूपमा उभिन नसकेको दाबी गर्दै संसदमा संवैधानिक राजसंस्थाको पक्षमा कुनै ठोस प्रस्तावसमेत दर्ता नगरिएको बताएका छन्।
राणाको असन्तुष्टिको केन्द्रमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन रहेको बुझिन्छ। विगतमा लिङ्देन र राणाबीच निकट राजनीतिक सहकार्य थियो। २०७८ सालको महाधिवेशनमा लिङ्देनले तत्कालीन अध्यक्ष कमल थापा लाई पराजित गर्दा राणाको महत्वपूर्ण साथ थियो। त्यतिबेला कमल थापाले पार्टीको आन्तरिक राजनीतिमा पूर्वराजा ज्ञानेन्द्र शाह को हस्तक्षेप भएको आरोप लगाएका थिए। महाधिवेशन परिणामपछि थापाले लिङ्देनलाई भन्दा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै प्रतिक्रिया दिएका थिए।
पछि उनले राप्रपा छाडे पनि हाल पुनः पार्टीमा फर्किसकेका छन्। राणा र लिङ्देनबीच दूरी बढ्नुको अर्को प्रमुख कारण २०८१ चैत १५ गतेको राजसंस्था पुनर्स्थापना आन्दोलन मानिन्छ। आन्दोलन हिंसात्मक बनेपछि पत्रकार सुरेश रजक र सविन महर्जन को मृत्यु भएको थियो। त्यस घटनापछि राणा र राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र पक्राउ परेका थिए।
राणा पक्षले आफूहरू पक्राउ परेपछि पार्टी नेतृत्वले पर्याप्त साथ नदिएको आरोप लगाउँदै आएको छ। क्यान्सर उपचारका लागि अदालतको आदेशमा रिहा भएपछि अध्यक्ष लिङ्देनले राणालाई संगठन विभाग प्रमुखबाट हटाएका थिए, जसले सम्बन्ध झन् बिग्रिएको बताइन्छ।यता राप्रपाका अर्का महामन्त्री भुवनकुमार पाठक भने पार्टीभित्र कुनै सैद्धान्तिक विवाद नरहेको दाबी गर्छन्। उनका अनुसार असन्तुष्टि भए महाधिवेशनमा उठाउन सकिने विषयलाई पार्टी परित्यागको आधार बनाउनु उपयुक्त होइन।
राजनीति विश्लेषक चन्द्रदेव भट्ट का अनुसार राप्रपामा देखिएको विवाद वैचारिकभन्दा बढी नेतृत्व र कार्यशैलीसँग सम्बन्धित छ। उनका अनुसार नेपालका अधिकांश राजनीतिक दलहरूमा आन्तरिक शक्ति संघर्षलाई सैद्धान्तिक आवरण दिने प्रवृत्ति देखिन्छ। राणाले भने पार्टी नेतृत्वले महाधिवेशनसम्बन्धी निर्णयसमेत कार्यान्वयन नगरेको र नेतृत्व परिवर्तनको सम्भावना कमजोर बनेकाले नयाँ राजनीतिक यात्राको निर्णय गर्नुपरेको बताएका छन्।
राप्रपामा देखिएको पछिल्लो विभाजनले फेरि एकपटक प्रश्न उठाएको छ— पार्टीभित्रको विवाद वास्तवमै राजसंस्था र हिन्दुराष्ट्रको एजेण्डामाथिको मतभेद हो, वा नेतृत्व र शक्ति सन्तुलनको संघर्ष? हालका घटनाक्रमले दोस्रो कारण बढी प्रभावशाली देखिएको विश्लेषण भइरहेको छ।

