सामुदायिक विद्यालयमा ‘साना डाक्टर’ कार्यक्रम सञ्चालन गर्दै काठमाडौं महानगरपालिका
काठमाडौं, २ फागुन – काठमाडौं महानगरपालिकाले बालबालिकामा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवर्द्धन गर्ने उद्देश्यले सामुदायिक विद्यालयमा ‘साना डाक्टर’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। कार्यक्रमको प्रारम्भ चार वटा सामुदायिक विद्यालयमा नमूना रूपमा गरिने महानगरपालिकाले जनाएको छ।
महानगरपालिका स्वास्थ्य विभागका मेडिकल अधिकृत डा. दिवश न्यौपानेका अनुसार कार्यक्रममा व्यक्तिगत सरसफाइ, पोषण, जीवनशैली र नसर्ने रोग, सरुवा रोग तथा एन्टिमाइक्रोवियल रेसिस्टेन्स, प्राथमिक उपचार, सुरक्षा तथा मानसिक स्वास्थ्य र नेतृत्व विकासका विषयमा प्रशिक्षण दिइनेछ।
कार्यक्रमअन्तर्गत सहपाठीबीच आपसी सिकाइ, प्रयोगात्मक अभ्यास, भूमिका निर्वाह तथा अभिलेख र अनुगमनलाई मुख्य सिकाइ विधिका रूपमा अपनाइनेछ। पाठ्यक्रममा आधारित तीन महिनाको तालिमपछि विद्यार्थीलाई बाँकी नौ महिना समूहगत रूपमा स्वास्थ्य प्रवर्द्धनका गतिविधि सञ्चालन गर्न प्रोत्साहित गरिनेछ।
हरेक विद्यालयमा १५ देखि २० जना विद्यार्थी समावेश गरी स्वास्थ्य क्लब गठन गरिनेछ। महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बालबालिकामा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न र सहसिकाइ प्रवर्द्धन गर्न कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। उहाँले कार्यक्रम कार्यान्वयन गर्दा सम्बन्धित पक्षमा स्वामित्व भावना विकास गर्नुपर्नेमा जोड दिनुभयो।
यसैगरी, शिक्षा तथा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले किशोरकिशोरीका लागि यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी कार्यक्रमसमेत आवश्यक रहेको बताउनुभयो। उहाँले विद्यार्थीलाई आत्मविश्वासी बनाउँदै सकारात्मक प्रतिस्पर्धाका लागि तयार पार्न यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्नुभयो।
महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख दीपककुमार केसीले नमूना कार्यक्रमबाट प्राप्त सुझावका आधारमा भविष्यमा कार्यक्रमलाई विस्तारित गर्ने योजना रहेको बताउनुभयो।
शिक्षा अधिकृत केशव ज्ञवालीले विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षकको सहकार्यले कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो।
विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्वास्थ्यसम्बन्धी ज्ञान र सीप प्रदान गरी स्वास्थ्य दूतका रूपमा विकास गर्ने उद्देश्यले ‘साना डाक्टर’ कार्यक्रम सञ्चालन गर्न लागिएको हो। कार्यक्रमले विद्यार्थी, परिवार र समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

