स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत् : स्वास्थ्य बिमा बोर्ड
काठमाडौँ, २९ माघ – स्वास्थ्य बिमा बोर्डले बीमितले पाउँदै आएको रु एक लाख बराबरको उपचार सेवा सुविधा नघटाइएको स्पष्ट पारेको छ। बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत पाँच जना परिवारले वार्षिक रु तीन हजार ५०० योगदान गरेबापत पाउने रु एक लाख बराबरको उपचार सेवा यथावत् राखिएको छ।
बोर्डले उक्त रकममध्ये रु २५ हजार बहिरङ्ग सेवा (ओपिडी) का लागि र रु ७५ हजार अस्पताल भर्ना तथा आकस्मिक सेवाका लागि प्रयोग गर्न सकिने व्यवस्था गरेको जनाएको छ। स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत पाँच सदस्यसम्मको परिवारलाई रु तीन हजार ५०० योगदानमा रु एक लाखसम्मको स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइन्छ।
पाँच जनाभन्दा बढी सदस्य भएमा थप प्रतिसदस्य रु ७०० का दरले योगदान रकम बढ्दै जाने र प्रतिसदस्य रु २० हजार बराबरको सेवासुविधा थपिने प्रावधान छ। बोर्डले अनावश्यक रूपमा हुने ओपिडी सेवाको प्रयोग तथा दोहोरोपन रोक्न र गम्भीर, जटिल तथा ज्यान जोखिममा पर्ने रोगको उपचारका लागि स्रोत सुनिश्चित गर्न सेवा शीर्षकअनुसार रकम छुट्याइएको जनाएको छ।
सूचना अधिकारी मल्लका अनुसार पाँच सदस्यीय परिवारले वर्षभरिमा बढीमा रु २५ हजार बराबरको ओपिडी सेवा लिन पाउने व्यवस्था छ। पाँच जनाभन्दा बढी सदस्य भएका परिवारका प्रतिसदस्य थप रु पाँच हजार बराबरको ओपिडी सेवा सुविधा कायम गरिएको छ।
हाल स्वास्थ्य बिमा बजेटको करिब ७० प्रतिशतभन्दा बढी हिस्सा सामान्य बिरामीको ओपिडी सेवामै खर्च भइरहेको बोर्डको भनाइ छ। यसले गर्दा परिवारका सदस्यलाई गम्भीर रोग लाग्दा वा महँगो शल्यक्रिया आवश्यक पर्दा बिमाको रकम अपर्याप्त हुने र बिरामीले आफ्नै खर्चबाट ठूलो रकम व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको जानकारहरू बताउँछन्।
बोर्डले वास्तविक बिरामीको उपचारमा बिमाको रकम प्रभावकारी रूपमा प्रयोग गर्न ओपिडी, अस्पताल भर्ना र शल्यक्रियाजस्ता छुट्टाछुट्टै शीर्षकमा तोकिएको सीमा पालना गर्न आग्रह गरेको छ।

