क्षेत्रीय सहयोग आवश्यक मात्र होइन, अनिवार्य छः नेपाल

काठमाडौँ, २९ माघ  – नेपालले बदलिँदो विश्व परिवेशमा क्षेत्रीय सहयोग आवश्यक मात्र नभई अनिवार्य भएको धारणा राखेको छ। दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कार्यक्रम समितिको ६२औँ बैठकमा परराष्ट्र सचिव तथा सार्क स्थायी समितिका अध्यक्ष अमृतबहादुर राईले उक्त धारणा व्यक्त गर्नुभएको हो।

विश्वव्यापी चुनौती र अनिश्चितताबीच क्षेत्रीय सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले राष्ट्रिय प्रयास र विश्वव्यापी प्रक्रियाबीच सेतुका रूपमा क्षेत्रीय सहयोगको भूमिका अझ महत्वपूर्ण भएको बताउनुभयो। सार्कका महासचिव गोलाम सरवारले सार्कले चार दशकमा हासिल गरेका उपलब्धिको स्मरण गर्दै क्षेत्रीय सहकार्यसम्बन्धी आकाङ्क्षालाई व्यवहारमा रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो।

आज समापन हुने उक्त बैठकले सार्क सचिवालयको बजेट तथा कार्यक्रमहरू अनुमोदन गर्ने कार्यसूची रहेको जनाइएको छ। बैठकमा बङ्गलादेश, भूटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलङ्काका वरिष्ठ अधिकारीहरू सहभागी छन्।

Facebook Comments Box