११ वर्षको प्रतीक्षापछि सुवासले आमाको नामबाट नागरिकता पाए

म्याग्दी, २८ माघ – बेनी नगरपालिका–२ खबराका सुवास घिमिरेले ११ वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता प्राप्त गर्नुभएको छ। जिल्ला प्रशासन कार्यालय म्याग्दीमा मंगलबार प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले २७ वर्षीय घिमिरेलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभयो।

बुवाको पहिचान नभएकै कारण लामो समयसम्म नागरिकताबाट वञ्चित हुनुभएका सुवासले १६ वर्षको उमेरदेखि नागरिकताका लागि प्रयास गर्दै आउनुभएको थियो। अन्ततः नागरिकता प्राप्त भएपछि आफूलाई बल्ल नागरिक भएको अनुभूति भएको सुवासले प्रतिक्रिया दिनुभयो।

सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यका अनुसार सुवासलाई उहाँकी आमा कमला घिमिरेको नामबाट नागरिकता प्रदान गरिएको हो। सुवासले नागरिकताका लागि तीन वर्षअघि नै सम्पूर्ण प्रक्रिया पूरा गरी आवेदन दिनुभएको थियो। नेपाल नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन, २०८२ तथा नियमावलीको चौथो संशोधन, २०८२ अनुसार सुवासलाई नागरिकता प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभयो।

शारीरिक रूपमा अपाङ्गता भएका सुवास नागरिकता नहुँदा सरकारी सामाजिक सुरक्षा भत्ता, रोजगारीका अवसर र बैंक खाता खोल्नबाट समेत वञ्चित हुँदै आउनुभएको थियो, जसका कारण उहाँको दैनिकी निकै असहज बनेको थियो। सुवास र उहाँकी आमा कमला हाल आफन्तको घरमा आश्रय लिएर बस्दै आउनुभएको छ।

सुवास कमलाका कान्छा छोरा हुनुहुन्छ। हाल भारतमा कार्यरत कमलाका जेठा र माइला छोराले नागरिकता प्राप्त गरिसकेका छन् भने साइला छोराले भने अझै नागरिकता पाउन सकेका छैनन्। नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ राजपत्रमा प्रकाशन भएसँगै नागरिकता ऐन, २०६३ का प्रावधानहरू कार्यान्वयनमा आएका हुन्।

यसअघि बेनीका मिर खान, यास्मीन बेगम तथा मालिका गाउँपालिका–५ देवीस्थानकी सीमा पुनलाई पनि आमाको नामबाट नागरिकता प्रदान गरिएको थियो। थप केही सेवाग्राहीले आमाको नामबाट नागरिकता प्राप्त गर्न आवेदन पेस गरिसकेको जनाउँदै सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले आवश्यक छानबिन र प्रक्रिया पूरा गरी नागरिकता प्रदान गरिने जानकारी दिनुभयो।

Facebook Comments Box