ऐतिहासिक ‘विश्वमेध श्रीविद्या कोटिअर्चना महायज्ञ’मा ५५ लाख पटक अर्चना, जप र हवन सम्पन्न
काठमाडौँ, २८ माघ – पशुपति क्षेत्रलाई वैदिक परम्परा, तपस्या र आध्यात्मिक साधनाको अन्तरराष्ट्रिय केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यसहित नेपालमै पहिलो पटक आयोजना गरिएको ऐतिहासिक **‘विश्वमेध श्रीविद्या कोटिअर्चना महायज्ञ’**मा हालसम्म ५५ लाख पटक अर्चना, जप र हवन सम्पन्न भएको छ।
तन्त्र साधनाको प्राचीन केन्द्र तथा आध्यात्मिक ऊर्जाको भूमि नेपाललाई विश्वमा चिनाउँदै धार्मिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित वनकालीस्थित श्रीपशुपतिनाथ मन्दिर परिसरमा रहेको नेपाल वेदविद्याश्रममा माघ २३ गतेदेखि सुरु भएको महायज्ञ फागुन ४ गतेसम्म सञ्चालन हुनेछ।
आगम परम्परामा आधारित श्रीविद्या उपासना पद्धतिको उच्चतम अनुष्ठानका रूपमा आयोजना गरिएको यस महायज्ञमा श्रीविद्याकी अधिष्ठात्री देवी ललिता महात्रिपुरसुन्दरीको एक करोड पटक अर्चना, जप र हवन गर्ने लक्ष्य तय गरिएको छ। महायज्ञका संयोजक डा. रुद्रानन्द ब्रह्मचारीका अनुसार हालसम्म करिब ५५ लाख पटक साधना सम्पन्न भइसकेको छ।
नेपाल राष्ट्रको शान्ति, समृद्धि र जनकल्याणको कामनासहित आयोजना गरिएको महायज्ञअन्तर्गत आज भगवती मातङ्गीको लक्षार्चन अनुष्ठान (हवन) तथा ललिता महात्रिपुरसुन्दरीको अर्चना, पाठ, जप र पूजन सम्पन्न गरिएको छ। सम्पूर्ण महायज्ञ श्रीविद्यादेशिक प्रवर परमपूज्य गुरुदेव श्री महेश चैतन्य ब्रह्मचारीको सत्सङ्कल्प र दिव्य निर्देशनमा सञ्चालन भइरहेको छ।
उहाँ श्रीविद्या तत्व अनुसन्धान आश्रम, हरिद्वार तथा दिल्लीका प्रमुख समेत हुनुहुन्छ। यस्ता अन्तरराष्ट्रिय स्तरका वैदिक–तान्त्रिक अनुष्ठानहरूले पशुपति क्षेत्रको आध्यात्मिक महत्वलाई विश्वभर फैलाउँदै नेपाललाई धार्मिक तथा आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउने आयोजकहरूको विश्वास छ।

