निर्वाचन आउन २२ दिन बाँकी : ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने
काठमाडौँ, २८ माघ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई थप भव्य, व्यवस्थित र सहभागितामूलक बनाउन निर्वाचन आयोगले देशव्यापी मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ। मतदान प्रक्रिया सहज र सरल बनाउन तथा बदर मतको प्रतिशत घटाउने उद्देश्यसहित आयोगले फागुन ३ गतेदेखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागेको हो।
आयोगका अनुसार देशभरका ७५३ वटै स्थानीय तहअन्तर्गतका ६ हजार ७४३ वटा वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिनेछ। स्वयंसेवकले मतदाताको घरघर तथा बस्तीमा पुगेर नमूना मतपत्रको प्रयोगमार्फत निर्वाचनको महत्व, मतदान विधि र सही तरिकाले मत हाल्ने प्रक्रियाबारे जानकारी दिने कार्यक्रम तय गरिएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार विगतदेखि नै प्रत्येक स्थानीय तहमा तोकिँदै आएका सम्पर्क व्यक्तिलाई यसपटक मतदाता शिक्षा कार्यक्रमको अनुगमनकर्ताका रूपमा जिम्मेवारी दिइएको छ। “मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढाउनुका साथै बदर मतको अनुपात न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्नेछ,” प्रवक्ता भट्टराईले भन्नुभयो।
आयोगले मतदाता शिक्षा कार्यक्रम सफल बनाउन सातै प्रदेश सरकार, ७५३ वटै स्थानीय तह, निर्वाचनमा सहभागी राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम तथा अन्य सबै सरोकारवाला पक्षलाई सहकार्य गर्न आग्रह गरेको छ।आमनागरिकलाई मताधिकारको महत्व बुझाउने र मतदान प्रक्रियाबारे स्पष्ट जानकारी गराउने लक्ष्यसहित यो कार्यक्रम सञ्चालन गर्न लागिएको आयोगले जनाएको छ।

