पत्रकारलाई निर्वाचनमा सहज रूपमा समाचार सङ्कलनको व्यवस्था गर्न महासङ्घको माग

काठमाडौँ, २१ फागुन – नेपाल पत्रकार महासङ्घ ले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पत्रकारलाई मतदान तथा मतगणनाको समाचार सहज रूपमा सङ्कलन गर्ने वातावरण मिलाउन निर्वाचन आयोग र नेपाल सरकारसँग माग गरेको छ।महासङ्घले बुधबार जारी विज्ञप्तिमा देशभरका पत्रकार तथा सञ्चारगृहले समाचार सङ्कलनका क्रममा प्रशासनिक झन्झट व्यहोर्नुपरेको गुनासो आएको उल्लेख गरेको छ।

सूचना विभाग वा अन्य सरकारी निकायबाट जारी प्रेस पास, सम्बद्ध सञ्चारगृहको परिचयपत्र वा महासङ्घको परिचयपत्रका आधारमा मतदान र मतगणनास्थलमा समाचार सङ्कलनको व्यवस्था गर्न माग गरिएको छ। मतदानको अघिल्लो दिनसम्म पनि पत्रकारलाई सहज वातावरण नबनाइएकोप्रति महासङ्घले दुःख व्यक्त गरेको छ।

पारदर्शी, स्वच्छ, निष्पक्ष र स्वतन्त्र निर्वाचनका लागि प्रेसको महत्वपूर्ण भूमिका रहने सन्दर्भमा पत्रकारलाई दायित्व निर्वाहमा सहजीकरण र समन्वय गर्नु सम्बन्धित निकायको कर्तव्य भएको महासङ्घको भनाइ छ। अन्यथा निर्वाचन प्रक्रियाप्रति नै आशङ्का उत्पन्न हुन सक्ने चेतावनी पनि दिइएको छ। महासचिव रामप्रसाद दाहाल द्वारा जारी विज्ञप्तिमा निर्वाचनका क्रममा सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखी पत्रकारको सुरक्षामा विशेष ध्यान दिन माग गरिएको छ।

साथै, पत्रकारलाई सुरक्षित रूपमा कार्यथलोमा खटिन, तटस्थता कायम राख्न तथा निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिताको पालना गर्न आह्वान गरिएको छ। महासङ्घले आफ्ना प्रदेश समिति, शाखा समिति तथा संस्थागत सदस्य संस्थालाई सदस्य पत्रकारका समस्या समाधानमा सक्रिय हुनसमेत अपिल गरेको छ।

Facebook Comments Box