हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस आज मनाइँदै
काठमाडौँ, २१ फागुन – आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार तथा शान्ति–सुरक्षासम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले दिवस मनाउन थालिएको हो।
संयुक्त राष्ट्रसङ्घ को महासभाले ७ डिसेम्बर २०२२ मा प्रस्ताव पारित गर्दै हरेक वर्ष मार्च ५ लाई हातहतियारको होडबाजीविरुद्धको दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार पहिलो पटक ५ मार्च २०२३ मा औपचारिक रूपमा यो दिवस मनाइएको हो।
कोभिड–१९ पछिको विश्व परिवेशमा बढ्दो द्वन्द्व, सैन्य खर्चमा वृद्धि र आणविक जोखिमका चुनौतीका कारण शान्ति प्रक्रियामा जटिलता थपिएको सन्दर्भमा यस दिवसको महत्व अझ बढेको छ। विज्ञहरूका अनुसार निःशस्त्रीकरण केवल युद्धको अन्त्य मात्र नभई दिगो शान्तिको आधार पनि हो। यसले मानव सुरक्षा, आर्थिक विकास तथा सामाजिक स्थायित्वमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।
निःशस्त्रीकरण सैन्य वा राजनीतिक विषयमा मात्र सीमित नभई दिगो विकास, मानव अधिकार र साझा समृद्धिसँग प्रत्यक्ष रूपमा जोडिएको मुद्दा भएकाले अन्तरराष्ट्रिय सहकार्य र संवादमार्फत दीर्घकालीन शान्ति सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ।
यसै अवसरमा एन्टोनियो गुटेरेस ले विश्व समुदायलाई निःशस्त्रीकरणतर्फ ठोस र तत्काल कदम चाल्न आह्वान गर्नुभएको छ। उहाँले युद्धका लागि होइन, शान्तिका लागि स्रोत र शक्ति परिचालन गर्नुपर्ने आवश्यकता औंल्याउँदै कूटनीतिक संवाद, आपसी विश्वास र बहुपक्षीय सहकार्य सुदृढ बनाउन सदस्य राष्ट्रहरूलाई आग्रह गर्नुभएको छ।

