सशस्त्र प्रहरीद्वारा देशभर ४१ स्थानमा मनसुन प्रतिकार्य अस्थायी बेस स्थापना

काठमाडौँ, २२ साउन

सशस्त्र प्रहरी बल नेपालले वर्षायाममा सम्भावित विपद्‌ व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले काठमाडौँ उपत्यकासहित देशभर ४१ स्थानमा मनसुन प्रतिकार्य अस्थायी बेस स्थापना गरेको छ। काठमाडौँ उपत्यकामा कोलमटेश्वर मन्दिर, धर्मस्थली, धापासी, ललितपुरको लेले र भक्तपुरको सानोठिमीमा यस्ता बेसहरू स्थापना गरिएका छन्।

सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता नायब महानिरीक्षक कालिदास धौवजीका अनुसार यी बेसहरू नागरिकको उद्धार तथा सहायता कार्यका लागि सक्रिय रूपमा सञ्चालनमा छन्। अन्य बेसहरू निम्न प्रदेश र स्थानहरूमा स्थापना गरिएको छ:

  • कोशी प्रदेश: मोरङ (बखरी), ओखलढुङ्गा (हर्कपुर)

  • मधेस प्रदेश: सप्तरी (भारदह, बर्साइन), सिरहा (मिल), धनुषा (दुवरकोट), महोत्तरी (रघुनाथपुर, बनौटा), सर्लाही (धरहरा), रौतहट (फतुवा), बारा (तेलकुवा, कलैया), पर्सा (पोखरिया)

  • बाग्मती प्रदेश: मकवानपुर (सुनौला), काभ्रे (खालथोक, मङ्गलटार), नुवाकोट (खरानीटार), चितवन (भालढुङ्गा), दोलखा (लिङ्कन बजार, सिङ्गटी), रसुवा (तातोपानी)

  • गण्डकी प्रदेश: पर्वत (खहरे), गोरखा (आरुघाट), पूर्वी नवलपरासी (चोरमारा), कास्की (छाचोक)

  • लुम्बिनी प्रदेश: बर्दिया (राजापुर), रुपन्देही (बुटवल), बाँके (कुण्डा, कचनापुर), गुल्मी (तुराङ्ग), पाल्पा (दोभान)

  • कर्णाली प्रदेश: जुम्ला (बड्की), मुगु (डिमुरखारा), जाजरकोट (दल्ली)

  • सुदूरपश्चिम प्रदेश: कैलाली (खानी डाँडा), डोटी (बुडर)

सशस्त्र प्रहरी बलले जोखिमयुक्त क्षेत्रहरू पहिचान गरी तिनमा उद्धार सामग्रीसहितको सुरक्षा फौज तयारी अवस्थामा राखेको जनाएको छ। यसअघि सशस्त्र प्रहरीले एक लाख ६८ हजार ९५६ जना विपद् सूचक परिचालन गरेको थियो भने ९९० जनालाई विपद् स्वयंसेवक तालिम प्रदान गरेको जानकारी समेत प्रवक्ता धौवजीले दिनुभएको छ।

Facebook Comments Box