पश्चिम एसियाको सुरक्षा अवस्था : १६ हजार नेपालीले अनलाइन दर्ता गरे

काठमाडौँ, २१ फागुन – पश्चिम एसियामा विकसित सुरक्षा अवस्थाबीच त्यहाँ रहेका नेपाली नागरिकहरूको विवरण सङ्कलन गर्न सुरु गरिएको अनलाइन दर्ता प्रणालीमा एकै दिनमा करिब १६ हजार जनाले नाम दर्ता गराएका छन्।

परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभाग ले मंगलबारदेखि अनलाइन पोर्टल सञ्चालनमा ल्याउँदै सम्बन्धित नेपालीलाई विवरण दर्ता गर्न अनुरोध गरेको थियो। मन्त्रालयका अनुसार प्रणाली सञ्चालनमा आएको एक दिनमै उल्लेख्य सङ्ख्यामा दर्ता भएको हो।

मन्त्रालयले दर्ता प्रणालीलाई थप सरल, सहज र सर्वसुलभ बनाउँदै व्यापक पहुँच सुनिश्चित गरिने जनाएको छ। यसका लागि विभिन्न मुलुकस्थित नेपाली नियोगहरूलाई त्यहाँ रहेका नेपाली संघ–संस्था, समुदाय तथा गैरआवासीय नेपाली संघ सँग समन्वय गरी सूचना प्रवाह सुदृढ गर्न निर्देशन दिइएको छ। प्राप्त विवरणका आधारमा आवश्यक सहयोगको प्रकृति र प्राथमिकता निर्धारण गरिने मन्त्रालयले जनाएको छ।

यसैबीच, इजरायल, अमेरिकाइरान बीच जारी हवाई आक्रमण र प्रतिआक्रमणका घटनाले पश्चिम एसियामा सुरक्षा चिन्ता बढाएको छ। इरानले उक्त क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा मिसाइल आक्रमण गर्दै आएको जनाइएको छ। यस परिस्थितिमा पश्चिम एसियाली मुलुकहरूमा रहेका करिब १७ लाखभन्दा बढी नेपालीको सुरक्षाबारे चासो बढेको छ।

सरकारले परिस्थितिको निगरानी तथा समन्वयका लागि परराष्ट्र सचिव अमृतबहादुर राई को अध्यक्षतामा ‘इमरेन्सी रेस्पोन्स टिम (ईआरटी)’ गठन गरेको छ। आज बसेको ईआरटी बैठकले आवश्यक समन्वय र आगामी कार्ययोजनासम्बन्धी विभिन्न निर्णय गरेको मन्त्रालयले जनाएको छ।

Facebook Comments Box