मेघालय कोइलाखानी विस्फोटः खोटाङको एउटै गाउँका तीनको मृत्यु, एक बेपत्ता, शव ल्याउन समस्या

खोटाङ, २६ माघ – भारतको मेघालय राज्यमा रहेको अवैध कोइलाखानीमा भएको विस्फोटका कारण खोटाङका तीन जना युवकको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्। सो घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन्।

मेघालयको पूर्वी जयन्तीया हिल्स क्षेत्रमा सञ्चालन भइरहेको अवैध कोइलाखानीमा माघ २२ गते भएको विस्फोटमा बरापोखरी गाउँपालिका–१ बरापोखरी सालघारीस्थित भञ्ज्याङका २७ वर्षीय पूर्णिराम खपाङ्गी मगर, २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगर र ३५ वर्षीय नरबहादुर खपाङ्गी मगरको ज्यान गएको हो।

विस्फोटका क्रममा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित जोरकाफलका ५० वर्षीय रत्न राई बेपत्ता भएका छन्। उनी कोइलाखानीभित्र काम गरिरहेका बेला विस्फोट भएको र घटनापछि सम्पर्कविहीन बनेका छन्। विस्फोटपछि उनी कोइलाखानीभित्रै जलेर मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ।

साथै काम गर्दै आएका भोजपुरका आफन्तका अनुसार रत्न कोइलाखानीभित्र पसेकै समयमा विस्फोट भएको खबर आएको दुर्छिमका युवा नेता नेत्रविक्रम राउतले जानकारी दिनुभयो। उद्धारका क्रममा कोइलाखानीभित्र भेटिएका शवहरू आगोले डढेर नचिनिने अवस्थामा रहेको र सो जानकारी परिवारलाई दिइएको आफन्तले बताएका छन्।

विस्फोटपछि बेपत्ता भएका रत्नको नागरिकता, डायरी र मोबाइल कोठामै भेटिएको जनाइएको छ। उनी रोजगारीका सिलसिलामा गत असोज ९ गते मेघालय गएका थिए। विस्फोटमा गम्भीर घाइते भएका नरबहादुरको उपचारका क्रममा माघ २३ गते मृत्यु भएको स्थानीय शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो। घटनाकै दिन ज्यान गुमाएका पूर्णिराम र सुरेन्द्र एकै घरका दाजुभाइ भएको स्थानीयवासी इन्द्र लिमेल मगरले जानकारी दिनुभयो।

विस्फोटमा परी बरापोखरी गाउँपालिका–१ सालघारीका ४६ वर्षीय कर्णबहादुर खपाङ्गी मगर, भञ्ज्याङका ४० वर्षीय बमबहादुर खपाङ्गी मगर तथा उदयपुर साउनेका ४० वर्षीय ललित लुङ्गेली मगर गम्भीर घाइते भएका छन्। उनीहरूको मेघालयकै स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। सो जानकारी उनीहरूसँगै काम गर्दै आएका राहपोखरीस्थित वालम्पाका ताराबल मगरले दिनुभयो।

घटनापछि ताराबलले फोनमार्फत विस्फोटको खबर आफन्तलाई दिएका थिए। विस्फोटमा ज्यान गुमाएका खोटाङका युवाको शव नेपाल ल्याउन परिवारलाई ठूलो समस्या परेको छ। घटनाको जानकारी पाएपछि मृतकका आफन्त प्रकाश खपाङ्गी मगर तीन दिनको यात्रा गरेर मेघालय पुगेको बताउनुभएको छ। शव स्वदेश ल्याउन तथा गम्भीर घाइतेको उपचारका लागि सहयोग सङ्कलन अभियान सुरु गरिएको स्थानीयवासी प्रकाश बञ्जराले जानकारी दिनुभयो।

Facebook Comments Box